Trending :
 

रसुवाको सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको ‘ब्रेकथ्रु’

चैत्र ०७,२०७६

-

चैत ७,२०७६ काठमाडौं ।
रसुवा आमाछोदिङ्‍मो गाउँपालिका-५ मा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग शुक्रबार बिहान ‘ब्रेकथ्रु’ भएको छ । 
 
आयोजनाको ३ हजार ६ सय ७४.८ मिटर लम्बाइ रहेको मुख्य सुरुङ मार्ग शुक्रबार बिहान ब्रेक थ्रु भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
 
आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको मुख्य सुरुङमार्ग ब्रेकथ्रु गर्ने काम सकिएसँगै कम्पनीलाई ठूलो सफलता मिलेको अधिकृत श्रेष्ठले बताए । आयोजनाको काम करिब ७७ प्रतिशत सकिएको उनले बताए ।
आयोजनामा अहिले पावरहाउस निर्माण र पेनस्टक पाइप राख्ने काम भइरहेको छ । बाँधस्थलतिरको संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। 
 
आयोजनाको सिभिलतर्फको निर्माण कार्य एईडब्लु-टुंदीले गरिरहेको छ । माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट निस्केको पानी र छुप्तुङ खोलाको पानीलाई मिसाइ ३ हजार ६ सय ७४.८ मिटर लामो सुरुङ र ९ सय ४० मिटर लामो पेनस्टक पाइपबाट चिलिमेमा ३ वटा टर्बाइनमार्फत ४२.५ मेगावाट विद्युत् उत्पादन हुनेछ । 
 
२०७७ दशैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको छ । कोरोना भाइरस (कोभिड-१९) को प्रभाव आयोजनामा पनि परेको छ । नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक तथा कामदार उतै रोकिँदा आयोजनाको इलेक्ट्रोमेकानिकलको काम नै प्रभावित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
 
अहिले आयोजनामा दुई जना मात्र चिनियाँ प्राविधिकहरु रहेका छन् ।