Trending :
 

दिल्लीमा निर्भया सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई ७ वर्षपछि फाँसी

चैत्र ०७,२०७६

-

चैत्र ७,२०७६ काठमाडौं ।
भारतको राजधानी नयाँ दिल्लीमा सात वर्षअघि भएको सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई शुक्रबार बिहान साढे ५ बजे तिहाड जेलमा फाँसी दिइएको छ ।
 
सन् २०१२ मा सार्वजनिक सवारीमा सवार २३ वर्षीया एक युवती (निर्भया) माथि हमला गरी सामूहिक बलात्कार गरेर मृत्युको मुखमा पुर्‍याउने चारै जनालाई दिल्ली अदालतले अन्तिम समय ५ मार्चमा फाँसीको मिति तोकेको थियो ।
 
सोही तालिका बमोजिम चारैजना दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा जल्लादले झुण्ड्याएका हुन् ।
 
दोषीलाई फाँसी दिएसँगै पीडित निर्भयाका अभिभावकले छोरीले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
 
घटनामा ६ जनाको संलग्नता रहेको आरोप लागे पनि एक जनाले हिरासतमै आत्महत्या गरेका थिए भने एक जना घटनाको समय नाबालिग नै भनी सुधारगृहमा राखेर रिहा गरिएका थिए ।
 
बाँकी रहेका चारजनालाई चौथो पटक फाँसीको सजाय सुनाएपछि शुक्रबार कार्यान्वयन गरिएको हो ।
 
फाँसी दिइनु अघि दोषी पक्षका वकिलले बिहीबार सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा गरेको याचिका खारेज भएको थियो । दोषीलाई फाँसीबाट जोगाउन मध्यरातमा दिल्ली हाईकोर्ट पुगेका दोषी पक्षका वकिलहरूलाई  न्यायाधीशहरू मनमोहन र सञ्जीव नरुलाको इजलासले फिर्ता पठाइदियो ।
 
त्यसपछि दोषी पक्षका वकिल अन्तिम समय मध्यरातमै सर्वोच्च अदालत समेत पुगेका थिए । तर सर्वोच्चका न्यायाधीश भानुमतिको अध्यक्षतामा बसेको विशेष इजलासले दलील कमजोर भएको भन्दै याचिका खारेज गरिदियो ।
 
यसअघि राष्ट्रपति रामनाथ कोविन्द समक्ष सजाय माफीका लागि दया याचिका पेश गरिएको थियो । उनले पनि यसलाई खारेज गरिदिएका थिए । त्यसपछि ५ मार्चमा अदालतले चौथो पटक मृत्युदण्ड दिइने मिति तोकेको थियो ।