कोरोना संक्रमित रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जकोको मृत्यु

चैत्र ०९,२०७६

-

चैत ९,२०७६ काठमाडौं ।
रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।
 
बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।
 
कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् ।
 
‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’
 
रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।
 
लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।