कोरोनाले नेपाललाई देखाईदिएको एउटा बाटो
-
• विनोद त्रिपाठी–
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि दिएको बक्तब्यले केहि भरोसा दिलाएको छ । यो बक्तब्यले नेपाल पनि कोरोना भाइरसप्रति सचेत छ भन्ने विश्वमा संचारकृत गराइदिएको छ ।
यतिबेला कि प्रधानमन्त्रीको वक्तब्य सही छ, कि जनताले भोगेको समस्या सत्य छ । अन्यथा सबै झुठ छ । आइतबारसम्म काठमाडौं उपत्यकामा हरेक ग्याँस डिपो र पसलमा उपभोक्ताको घुँइचो छ । पेट्रोल पम्पमा लाइन लम्बिन छोडेको छैन । सरकारी अस्पतालमा उपचारको सुविधा १० बर्ष अघि कै जस्तो छ । चिकित्सक भेट्न सर्बसाधारणले सक्दैनन् । भेटिहाले पनि भगवानकै महावाणी जस्तो एक बाक्य मात्र सुन्न पाउँछन् । दोहोरो संवाद सरकारी अस्पतालका चिकित्सकले गर्देनन् । तिनै चिकित्सक नीजि अस्पतालमा, कुनै सभासमारोहमा वा कुनै अन्तर्वार्तामा कति वफादार देखिन्छन् भने यिनका फेरिएका रुपहरु प्रधानमन्त्रीले समेत चिन्न सक्दैनन् ।
प्रधानमन्त्रीले वक्तब्य जारी गरेर जनतालाई सचेत गर्नुभएको साँचो हो । तर, सरकारले केहि गर्यो र गरिरहेछ भन्ने शतप्रतिशत झुठ हो । आइतबार आपुर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई पाता कस्छौं भन्दै गर्दा उपत्यकाका सबै पसल र डिपोमा उपभोक्ता ब्यापारीहरुसंग ग्याँस पाउन हारगुहार गरिररहेका थिए । उदाहरणका लागि अनामनगर स्थित आप्का हाउस नजिकै एउटा डिपोमा उपभोक्ताको लामो लाइन मात्र थिएन, ग्याँस पाउन दिनभरि उपभोक्ता पसल अगाडी रुँगिरहेका थिए । सबैतिर यहि हालत थियो । जनता भयभित मात्र छैनन्, सरकारसंग एकरति विश्वस्त छैनन् । सरकारले ग्याँस अभाव हुँदैन भन्दै गर्दा जनताले विश्वास नगरेर ५/७ वटा ग्याँस थुपार्न थालेका छन् । सरकारले कालाबजारीलाई कारवाही गरेका छौं भनिरहँदा उपभोक्ता हरेक सेकेण्ड कालाबजारीको घानमा परिरहेका छन् । हो , सरकारलाई पनि थाहा छ, केहि नागरिक बढि स्वार्थी छन्, र अहिले धेरै ग्याँस किनेर जोहो गर्दा अभाव सृजना भएको हो । यो थाहा हुँदा हुँदै किन सरकार बजार ब्यबस्थापन गर्न चाहँदैन ? यो प्रश्नको उत्तर सरकारले दिन चाहँदैन । किनकी, सरकारसंग कालाबजारीको स्थायी कनेक्शन छ । त्यसैले, सरकारसंग यसको उत्तर छैन ।
सरकारले लोकलाज बँचायो
जब चीनको वुहान शहरमा यहि माघ १० गते चिनियाँ सरकारले कोरोनावाट बँच्न सचेत गरायो, तब सबै देशले आफ्ना नागरिक धमाधम फिर्ता लगे । तर, नेपालीहरुको हारगुहार र बिलौना यति कहालीलाग्दो भयो कि मानौं नेपाल सरकार अफ्रिकाका जंगलमा शिकार खेल्न गएको छ र सुनिरहेको छैन । पत्रिकामा लेखहरु आउन थाले, ‘केपी ओली ज्यू, एक पटक सच्चा प्रधानमन्त्री त वनिदिनुस ।’ यसरी घर भित्र र वाहिरवाट नेपाल सरकारलाई चर्को दवाव दिएपछि बल्ल फागुन ३ गते अर्थात २३ दिनपछि त्यहाँ भएका नेपालीलाई ल्याइयो । त्यो बेलासम्म चीनमा कोरोनाका कारण १७ जनाको मृत्य भइसकेको थियो । कोरोनाको प्रकोप त २ महिनाअघि सल्किसकेको विवरण वाहिर आइसकेको थियो ।
कोरोना फैलिएर, दक्षिण कोरिया, इरान हुँदै इटालीतिर पुग्यो अनि युरोपलाई ढपक्कै ढाक्यो । बल्ल नेपाल सरकार बोल्न थाल्यो, ‘कोरोनावाट सचेत होउँ ।’ जहाँ हामी भुगोल र नागरिक विच चीनसंग सोझै जोडिएका छौं, त्यो देशको सचेतना शुन्य थियो । त्यो बेलासम्म विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिम सुचीमा राखिसकेको थियो । अनि मात्र नेपालका प्रधानमन्त्रीको ब्यक्तब्य आएको हो । अहिले जे जति चेतनामुलक कामहरु भइरहेका छन्, नागरिकतहको दवावलाई थेग्न नसकेर हो भन्ने सरकार स्वंयले प्रमाणित गरिदिएको छ । हामी भाग्यवस कोरोनावाट बँचिरहेका छौं । तर, हाम्रो कुनै तयारीले हामीलाई कोरोनाले छोएको भने होइन ।
कोरोनाले होइन, भोकै मर्न सक्छन् नेपाली
अहिले नेपाली बजारको हालत निकै खराब छ । सरकारका अधिकारीहरुले जे वोलेका छन्, बजारका गल्लीगल्ली ठिक उल्टोगरि चलिरहेका छन् । सरकारले कुनै सामानको अभाव हुन दिने छैनौं भनिरहेको छ । तर, पसलहरुमा ग्याँस लुकाइएको छ । डिपोहरुमा ग्याँस पाइँदैन । सरकारको अनुगमन यति फितलो छ कि, मानौं, सरकार कालाबजारीको ग्याङ्गले चलाईरहेको छ ।
हो, हामी अहिलेसम्म कोरोनावाट सुरक्षित छौं । यो सत्य हो । यो पनि सत्य होकि कोरोनाको प्रकोपवाट पेट्रोलियमजन्य पदार्थको अभाव कुनै हालतमा हुँदैन । बरु यसको खपत कम हुन्छ र बजार मुल्य घट्छ ।
अहिले यसको अन्तराष्ट्रिय बजार मुल्य घट्नुको एउटा कारण यो पनि भएको यसका जानकारहरुले बताइसकेका छन् । तर, पनि नेपाली बजारमा कसरी कृतिम अभाव गराईयो ? यो प्रश्नको उत्तर सजिलो छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)का बिचौलियासंग नेपाल आयल निगमका बिचौलियासंग सोझो सम्वन्ध छ । यिनै विचौलियाको उद्योगी ब्यापारीसंग कारोवार चल्छ । उद्योगी ब्यापारीहरुको नेपाल आयल निगम, आपुर्ति मन्त्रालयका अधिकारीहरुसंग प्रत्यक्ष सम्वन्ध छ । यिनै अधिकारीहरु सरकारका मन्त्री, पुर्वमन्त्रीहरुसंग सोझै हिसाबकिताब माग्छन् । यसरी राजनीति दलसंगको संबन्ध सरकारका अधिकारी हुँदै विचौलियासम्म तन्किएको छ । यहिंवाट शुरु हुन्छ, कालाबजारी ।
यसमा कुनै आरोप छैन । तपाँई हामी बजारलाई नियाल्यौं भने यी सबै दृष्य प्रष्ट देखिन्छ । त्यसैले, अहिले पेट्रोलियम पदार्थमा भइरहेको कालाबजारी विस्तारै खाद्यान्न र औषधीमा सर्ने संकेत देखिएको छ । यहि रफ्तारमा सरकारका पाइला अघि बढे भने कोरोनाले होइन, भोकमरिले नेपालीलाई मार्नेछ ।
नेपाल सरकारले सिक्नुपर्ने एउटा तथ्य
कोरोनाको प्रकोपवाट बँच्न सरकारको पछिल्लो तयारीमा ब्यापक प्रचार त छ । तर, ब्यवहारमा अझै कुनै काम गर्न सकेको छैन । यहाँ फेरि प्रश्न गरिएला, सरकारले विदा दियो । लामो दुरीका सवारी रोक्यो । जहाज आउन दिएको छैन । दिनदिनै सचेत गराएको छ । यस्ता प्रश्नहरु गर्नेलाई बास्तविकता बुझ्न अनुरोध गर्दछु । केहि दिन अघि दक्षिण एशियाली मुलुकहरुका सरकार प्रमुख विच भिडियो कन्फ्रेन्स भयो । त्यो कन्भरसेशन्स कार्यक्रम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका थिए । दिउँसो मोदीले सबैलाई जानकारी पठाएर साँझमा त्यो संवाद भएको थियो । नेपाल अध्यक्ष राष्ट्र हो । नेपालले यो आयोजना गर्नु पथ्र्यो । तर, भारतका प्रधानमन्त्रीले आयोजना गरिदिए । यो बिषयमा नेपाली कृटनितिक विज्ञहरुले नेपाल सरकारको निकै आलोचना गरेका थिए ।
तर, बास्तविकता यो होकि चौतर्फी दवाव आएपछि मात्र वर्तमान सरकार कोरोनावाट केहि सचेत भएको यथार्थ हो । कोरोनाले विश्व अर्थतन्त्रलाई नराम्रोसंग पछारिदिएको छ । नेपालमा भने रोजीरोटीको समस्या सृजना गरिदिने होकि भन्ने आशंका बढेको छ । त्यसैले, अब भावी योजना सरकारले के गर्न सक्छ त ?
अहिले लामो विदा परेको र कोरोनावाट सचेत हुन उपत्यकाबाट वाहिरिने क्रम बढेको छ । यसले अहिले उपत्यका केहि शान्त देखिन्छ । सडकहरु केहि ब्यबस्थित देखिएका छन् । यो समस्याको घडीमा सरकारले एउटा दिर्घकालिन योजना अघि बढाउन सक्छ । त्यो हो, ब्यबस्थित शहर । त्यसका लागि खाका तयार गरेर असरल्ल परेको यो बजारलाई शहरमा रुपान्तरण गर्ने योजना ल्याउन सक्छ । ब्यबस्थित शहर बसोवासका लागि धेरै देशले ठुलो मिहिनेत गरेका हुन्छन् । मिहिनेत नगरी कुनै पनि शहर सुन्दर र सफा हुन सक्दैन । काठमाडौं उपत्यकालाई अग्लो थुम्कावाट हेर्नुस, वा जहाजवाट नियाल्नुस, वा सडककै चोकमा उभिएर नजर घुमाउनुस । अथवा आँफै बसेको घर वरिपरीको वातावरण हेर्नुस, अझ परतिर पुगेर फरक्क फर्केर हेर्दा पनि हुन्छ । तपाईंले कुनै कोणवाट काठमाडौं उपत्यका शहरको रुप पाउनुहुन्न । विश्वमै बैराग्य बजारमा किन परिणत भयो यो उपत्यका ?
कसरी हुन्छ ब्यबस्थित शहर ?
अहिले विश्वमा फैलिएको कोरोनाको प्रकोपले हामीलाई एउटा शिक्षा दिएको छ । त्यो बाटो भनेको ब्यबस्थित बसोबास हो । विकसित मुलुकको त्यो सभ्य शहरमा कोरोनाको प्रकोपले त्यो बेहाल बनाइदिएको छ भने, हाम्रो यो भद्रगोल भित्र कोरोना छिर्यो भने के हालत होला ? अनुमान गर्न कसैले सक्दैन । त्यसैले, शहरको अवधारणामा सरकारले यो बेला केहि रेखांकन कोर्न सक्छ ।
चीनको मुख्य विधायीका सदन (नेशनल पिपुल्स कंग्रेस) मुख्य सदनमा एउटा विधेयक पेश भयो । त्यो हो, आन्तरिक बसाँई प्रणाली । १७ बर्ष अघि पास भएको यो विधेयक अहिले चीनभरि लागु भएको छ । यो विधेयकले गाउँबाट शहर बस्नका लागि अनुमति खोज्छ । चिनियाँ नागरिक आफ्नो इच्छा अनुसार, आफ्ना कुनै पनि शहरमा बसाँई सर्न वा बस्न पाउँदैनन् । यसको बिशेष प्रावधान छ । चीनको मुख्य भूमिमा, घरेलु रजिष्ट्रेसनको प्रणालीले आन्तरिक बसाई सजिलो बनाएको छ । जथाभावी बसाँई सरे वा घर वनाए स्थानीय सरकारले अनुदानित विद्यालय शिक्षा, अनुदानित आवास, र स्वास्थ्य बीमा जस्ता सेवाहरू प्रतिबन्ध लगाउन सक्छन् । शहरीकरणको नियन्त्रण गर्न यो प्रावधान गरिएको हो ।
विश्वकै धेरै जनसंख्या भएको चीनले यो प्रणाली नबसाइएको भए मानिस मानिस बिच खप्टेर धेरैको मृत्य भइसक्थ्यो । सबैको चाहना ठुला शहरमा बसौं भन्ने हुन्छ । सबैलाई सुविधाजनक ठाउँ चाहिन्छ । त्यसैले, यसलाई रोक्न चीन सरकारले सुविधालाई विकेन्द्रीकरण मात्र गरेन, ठुला शहरमा स्थायी वा अस्थायी बसोबासमा कडाइ गरिदियो । अहिले विश्वका धेरै विकसित मुलुकले यहि प्रणाली अपनाएका छन् । देशको राजधानीमा बस्नका लागि अनुमति लिनुपर्ने प्रावधान लागु गरिएका छन् । जस्ले गर्दा केहि देशका राजधानीमा भन्दा अन्य शहरमा जनसंख्या बढि छ । तर, नेपालमा मात्र किन राजधानीमै एक चौथाई जनसंख्या ओइरिएको छ ? अब यो प्रश्न उठाउनुपर्छ । नत्र, कोरोना जस्ता भाइरस फैलिए भने यहाँ बँचाउने कुनै आधार बाँकी हुने छैन ।
के गर्ने अब ?
नेपाल तुलनात्मक रुपमा धेरै जनसंख्या भएको मुलुक होइन । मधेशमा तिव्र रुपमा जनसंख्या बढेपनि पहाड र हिमालसम्म जनसंख्या घट्दो क्रममा छ । तर, पनि काठमाडौंका गल्ली हेर्यो भने बंगलादेश जस्तो पुरै भद्रगोल छ । विश्वमा सबैभन्दा अब्यबस्थित शहरहरु भएको देश वंगलादेश हो । अहिले काठमाडौं जनसंख्याको ठुलो चपेटामा छ । मोटामोटी अनुमान अनुसार, स्थायी र अस्थायी गरेर यो उपत्यकामा करिब ६० लाख मानिस बसोवास गर्छन् । तथ्यांक विभागको रेकर्ड अनुसार, पनि अस्थायी रुपमा यहाँ ६० प्रतिशत बढि मानिसको बसोवास छ । यो डरलाग्दो चित्रण हो ।
यसका लागि सरकारले केहि प्रावधान गर्न सक्छ । अल्पकालीन र दीर्घकालीन आयोजना तयार गरेर उपत्यकाको कहालीलाग्दो जनघनत्वलाई घटाउन सक्छ । अहिले प्रदेश प्रणाली लागु भइसकेको छ । हरेक प्रदेशका सदरमुकाम तोकिएका छन् । यसले शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, ब्यबसायीलाई थोरै भएपनि विकेन्द्रीकरण गरिदिएको छ । यसैका आधारमा नागरिकका हितका लागि जुन नागरिकको जन्मघर जहाँ हो त्यहिं फर्काउने कदम चाल्न सक्नुपर्छ । जस्तो उदाहरणका लागि, अछामको नागरिकले त्यहिं नजिकको शहरवाट सुविधा प्राप्त गर्न सक्नेछ । यसरी हरेक जिल्लाका नागरिक आफ्नै जिल्लामा स्थायी रुपमा फर्काउने गहन कार्यको शुरुवात गर्नुपर्छ ।
अहिले यो उपत्यका शहर होइन, बैराग्य बजार मात्र वनेको छ । शहरमा धेरै सुविधा हुन्छन् । जस्तै, टोलको विचमा अनिवार्य बालबालिकाको लागि खेल्ने बालबाटिका, हरेक स्थानमा खेल मैदान, पैदलमार्ग, अपांगहरुका लागि सडक पेटी, पार्क, सवारी पार्किङस्थान । यी अनिवार्य आवस्यकता हुन् । तर, जनसंख्याको चाप यति धेरै बढेर गयो कि भएका खाली स्थानहरु भरिंदै गए । अहिले उपत्यका कुरुप मात्र भएको छैन । कुनै रोगब्याधी फैलियो भने सरकारले नियन्त्रण गर्ने आधार नै समाप्त भइसकेको छ । भगवान भरोसा वाहेक केहि छैन उपत्यकाको बसोवासको चित्र ।
टुँडिखेल मिचिएको छ । सम्पदा मासिएका छन् । सार्वजनिक जमिन नासिएका छन् । दुर्गमवाट आएर टावर उठाईदिएको छ । राजनीति पहुँचले को दुर्गमको को सुगमको छुट्याउन नसकिने अवस्था छ । सबैलाई काठमाडौं ताक्ने नशा चढेको छ । काठमाडौं बसेपछि ठुलो बनिने अभिमान सबै नेपालीलाई पलाएको छ । पछिल्लो पटक राजनीति र आन्तरिक द्धन्द्धले पनि धेरैलाई उपत्यकामा तानिदियो । तर, अब यसका लागि नियन्त्रित र ब्यबस्थित बसोवासको अवधारणा नल्याइ सुखै छैन ।
भनिन्छ, हरेक संकटसंगै अर्को अवसरको वाटो निस्कनेछ । अहिले विश्वलाई कोरोनाले रुवाएको छ । ति विदेशका भब्य र ब्यबस्थित शहरमा कोरोनाले त्यो हालत बनाइदिएको छ भने हाम्रो जस्तो यो बसोबासमा के हालत होला ? बालवालिका कसरी सुरक्षित वन्लान ? यो गंभिर बिषयमा सरकारको अव दीर्घकालीन योजना आउनैपर्छ । उपत्यकामा हामी जो कोहिको पनि आवस्यकता छैन भने जन्मेको स्थान फर्कन सबै तयार हुनुपर्छ । यो त्याग र देशप्रेमको भावना हरेक नागरिकलाई पलाउन जरुरी छ ।
त्यसैले, अहिले कोरोनावाट सचेत वन्दै यसले देखाइदिएको ब्यबस्थित बसोवासको आवस्यकताको यो बाटोमा नेपाल अब अघि बढ्नुपर्छ । किनकी, यस्ता विभिन्न रोगब्याधीवाट बंच्न ब्यबस्थित बस्ती पहिलो आवस्यकता हो । निरोगीहरुका लागि अहिलेको उपत्यका पुर्णरुपमा प्रत्युपादक स्थान हो भन्ने सबैले हेक्का गर्न जरुरी छ । (तस्विरहरु, विभिन्न संचारमाध्यम र सामाजिक संजाल ) ।
(पत्रकार त्रिपाठीले समसामयीक बिषयमा खरो रुपमा कलम चलाउँदै आएका छन् ।)