आर्थिक प्रसङ्ग
आषाढ ०९,२०७४
-रासस
९ असार,काठमाडौँ- न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयका लागि नवनियुक्त काउन्सुलेट जनरल मधुकुमार मरासिनी र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीबीच बिहीबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा नवनियुक्त काउन्सुलेट जनरलको स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको विकासमा प्रमुख सहयोगी राष्ट्र अमेरिकासँग नेपालले आर्थिक कूटनीतिका माध्यमबाट थप सहयोग एवं फाइदा लिन सक्ने र यस प्रकारको वातावरण तयार पार्न अर्थ मन्त्रालयमा लामो समयसम्म रहेका तथा निजी क्षेत्रका विषयमा राम्रो जानकारी भएका काउन्सुलेट जनरल मरासिनीको भूमिका मत्वपूर्ण हुने विश्वास व्यक्त गरे । नेपालमा लगानीको अनुकूल वातावरण तयार हुँदै आएको वस्तुस्थितिलाई अमेरिकी लगानीकर्तासम्म पु¥याउन, नेपाल अमेरिकाबीच सम्पन्न टिफालाई कार्यान्वयन तहमा ल्याउन, नेपालको निकासीलाई विभिन्न कार्यक्रमका माध्यमबाट अमेरिकी बजारमा बढाउन, प्रविधि र सूचनाको क्षेत्रमा महŒवपूर्ण भूमिका रहेको अमेरिकाको यस क्षेत्रमा सहयोग ल्याउन कूटनीति एवं निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सुझाव छलफलका क्रममा परिसंघका अन्य पदाधिकारीले व्यक्त गरेका थिए । सो अवसरमा नवनियुक्त काउन्सुलेट जनरल मरासिनीले नेपाल र न्युयोर्कसँग मात्र पनि व्यापार, लगानी, प्रविधि, बिमा आदि क्षेत्रको आपसी लगानी र सम्बन्ध बढाउन सके पनि नेपालको विकासमा थप सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै आफ्नो कार्यकालमा यसतर्फ यथाशक्य प्रयास गर्ने विचार व्यक्त गरे ।
प्रमुख समाचार