Trending :
 

लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु

चैत्र ११,२०७६

-

चैत ११,२०७६ काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुला हुने भएको छ ।
 
राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो । 
 
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए । 
 
 
‘हामीले मोबाइल बैंकिङ इन्टरनेट बैंकिङबाट कारोबार गर्न सबै भुक्तानी निःशुल्क बनाएका छौं, एउटा बैंकबाट अर्को बैंकमा र एउटा खाताबाट अर्को खाताबाट कारोबार गर्न मिल्छ, त्यसको शुल्क पनि लाग्दैन । हाम्रो उद्देश्य अनलाइन पेमेन्टको प्रयोग बढी गरौं भन्ने हो, तर सबैले अनलाइन पेमेन्ट गर्नुहुन्छ भन्ने छैन, त्यसका लागि हामीले सीमित शाखा खुलाउने भनेका हौं’ दाहालले भने । 
 
नेपाल राष्ट्र बैंकका कार्याकारी निर्देशक देवकुमार ढकालले बैंक खुला गर्ने कि नगर्ने भन्नेबारे सम्बन्धित बैंक र बैंकर्स संघले छलफल गरेको भन्दै संघले गरेको निर्णयलाई राष्ट्र बैंकले समर्थन र सहजीकरण गरिदिने बताए । 
 
सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो । सरकारी निर्देशनलाई हेर्दा बैंक तथा वित्तीय संस्था खुल्ने अवस्था थिएन । 
 
अब बैंकहरु खुला गर्नका लागि विशेष पास माग्न बैंकर्स संघ र सम्बन्धित बैंकहरुले स्थानीय प्रशासनसँग पहल गर्नेछन् । आवश्यक परे राष्ट्र बैंक र अर्थ मन्त्रालयले उनीहरुलाई सहजीकरण गर्ने बताइएको छ । तर कुन बैंकका कुन शाखा खुल्छन् भन्ने कारे सम्बन्धित बैंकहरुले नै सूचना जारी गर्नेछन् ।