सन्यास र सन्यासी

चैत्र ११,२०७६

-

हिन्दु धर्ममा मानव जीवनलाई चार भागमा बिभाजन गरिएको छ l मनुष्य जीवनको आयुलाई १०० बर्ष मानि प्रत्येक २५ प्रतिशतलाई एक कर्म अर्थात् आश्रममा बिभाजन गरिएको छ l ति हुन् ब्रम्हाचार्य आश्रम , गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम l यसको अर्थ हो जीवनमा २५ बर्ष सम्म बिध्यार सिप आर्जन गर्नु , अर्को २५ बर्ष बिवाहबारी गरी गृहस्थ जीवन यापन गर्नु , त्यस पश्यात २५ बर्ष पारिवारिक जिम्मेवारी पुरा गर्दै आफुलाई जिम्मेवारीबाट मुक्त गर्दै लानु र अन्तमा घरवार त्याग गरी बाकिको जीवन परमात्माको चिन्तन र  खोज गर्दै  भौतिक आवश्यकता प्रति बैराग्यता र उदासीनता बन्नु अर्थात् सन्यासी बन्नु l यस आश्रमको उद्देश्य मोक्ष प्राप्तिको मार्गमा लाग्नु हो l

 

यसरी चार आश्रम मध्ये सन्यास आश्रमले बिशेष महत्व बोकेको छ । त्यसैले सन्यास आश्रम जीवनको नित्य सुख आनन्दको भोग गर्दै  अन्त्यमा मोक्ष प्राप्त गर्ने र जीवनको यथार्थता र उद्देश्य ज्ञात हुनु र चेतनालाई परमात्मा संग मिलन गराउने एकमात्र मार्ग हो l यसै सन्यास आश्रममा सत्यको खोजमा जीवनको सबै खुशी , सुख र कर्मलाई त्याग गर्ने व्यक्तिलाई सन्यासी भनिन्छ l

 

‘सम्यङ् न्यस्यन्ति दुःखानि कर्माणि येन स: सन्यास, स प्रसस्तो विद्यले यस्य स : सन्यासी’ अर्थ– ब्रह्म र उसको आज्ञामा रहेर दुष्ट कर्मलाई त्याग्नु सन्यास हो र त्यो उत्तम स्वभाव भएको सन्यासी भनिन्छ अर्थात् राम्रो कर्म गर्ने र दुष्ट कर्मको विनास गर्ने व्याक्तिलाई सन्यासी भनिन्छ ।

 

'सन्यास आश्रम जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिञ्चन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ ।

 

सन्यास आश्रम र सन्यासीको आध्यात्मिक परिभाषा यस्तो रहेको पाउछौ l

 ‘न सुखं देवराजस्य न सुखं चक्र पाणिन : …

यादृशं वीतरागस्य मुनेरेकान्तवासिन :…

अर्थ (वीतराग (छोडि सकेको छ राग जस्ले यस्तो) र एकान्तवासी मुनि (सन्यासी) लाई जुन सुख आनन्द प्राप्त हुन्छ त्यो सुख आनन्द देवराज इन्द्र तथा चक्रपाणि श्री विष्णुलाई पनि मिल्न सक्तैन ।

 

यस शास्त्रीय कथनले के भन्छ भने , सन्यास आश्रम ग्रहण गर्नाले  नित्य सुख र परम आनन्द प्राप्त हुन्छ र यसको लागि जीवनको उत्तार्धमा सबै जिम्मेवारी पुरा गरी  सबै सांसारिक जिम्मेवारी र पदार्थबाट विरक्त हुनु पर्दछ l सन्यास जीवन र पदार्थबाट मुक्त हुनुमात्र नभएर पुस्ता हस्तान्तरणको सर्वोतम बिधि मात्र हो l त्यसैले त हिन्दु धर्मलाई सभ्य संस्कार र जीवन पद्धति भन्ने गरिन्छ l बास्तबमा हिन्दु सभ्यता केवल संस्कारमात्र नभई धेरै सस्कार र दर्शनको जननी पनि हो l यसले साथै उच्च जीवन यापन गर्न मार्ग प्रतस्थ गर्दछ l  सन्यास जीवन यसैको एउटा स्वरूप हो l