Trending :
 

उपभोग्य सामग्री बेच्‍ने समय तोकिदिन सरकारसँग व्यवसायीको माग

चैत्र १२,२०७६

-

चैत १२,२०७६ काठमाडौं ।
फलफूल, तरकारी, दूधलगायत खाद्यान्न पर्याप्त भए पनि बजारमा बिक्री गर्ने मान्छे छैनन् । खाद्यवस्तु खरिद गर्ने ग्राहक पनि छैनन् । तरकारी, दुग्धपदार्थलगायत अत्यावश्यक वस्तु मनग्गे भए पनि होलसेलबाट खरिद गरेर खुद्रासम्म पुर्‍याउने व्यवसायी छैनन् ।
 
तरकारी ढुवानी मंगलबार बिहान ६ बजेसम्म भयो । तर बिक्री भएको छैन । किन्ने मान्छे पनि आएनन्,’ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘जति बिक्री हुनुपर्ने थियो, त्यो भएन ।’
 
होलसेल बजारमा राति १२ बजेदेखि ढुवानी सुरु हुन्छ । सामान्य दिनमा कालिमाटीमा औसत ८ सय टन तरकारी भित्रिन्छ । उक्त तरकारीले उपत्यकाको करिब ६५ प्रतिशत माग धान्छ । मंगलबार २ सय ८७ टन तरकारी मात्रै भित्रियो । त्यही पनि सबै बिक्री हुन सकेन । ‘व्यापारीहरु सामान कसरी कटाउनेमा चिन्तित छन । सामान चाँडै बिक्री गर्न सस्तोभन्दा सस्तोमा बिक्री गरेको जानकारी पाएको छु,’ श्रेष्ठले भने । होलसेलमा सस्तोमा बिक्री भए पनि खुद्रामा भने मूल्य बढेको छ ।
 
सरकारले कोरोना संक्रमण रोक्न चैत १८ सम्म लकडाउन गरेको छ । तर पनि अत्यावश्यक वस्तुको ढुवानी, बिक्री रोकेको छैन । समितिले पनि बजार खुलै राखेको छ । बिक्रीवितरणमा भने चुनौती देखिएको व्यवसायीहरुको गुनासो छ । लकडाउन भएपछि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । खुद्रा पसल पनि बन्द छन् ।
 
‘फलफूल पर्याप्त आएको छ । तर बिक्री भएन,’ कालिमाटी तरकारी बजारका फलफूल व्यवसायी भरत खनालले भने, ‘ठेलागाडा र खरिदकर्ता किन्नै आएनन् ।’ सरकारले अत्यावश्यक वस्तुको ढुवानी र बिक्रीमा कुनै अवरोध नहुने बताए पनि व्यवहारमा लागु नभएको उनको गुनासो छ । 
 
बजार व्यवस्थित बनाउन सरकारले खरिदबिक्रीको समेत समय तोक्नुपर्ने उनले बताए । ‘फलफूल पर्याप्त छ, दुईतीन दिन चिस्यानमा पनि राख्न सकिन्छ,’ उनले भने,त्यसपछि के गर्ने भन्ने अन्योल छ ।’ बल्खु फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँको भनाइ पनि उस्तै छ । उनले पनि फलफूल खरिद गर्न ग्राहक नआएको गुनासो गरे ।
 
‘पसल खोल्न आउने र किन्ने आउनेलाई समेत प्रहरीले रोक्यो,’ उनले भने, ‘फलफूल हुँदाहुँदै पनि बिक्री भएन । ढुवानीको सहजता नहुँदा उपभोक्तामा हाहाकार देखियो ।’ व्यवसायीका अनुसार भारतबाट पर्याप्त मात्रामा फलफूल आइरहेको छ । 
 
भन्सारमा रोकवट छैन । अधिकांश ग्राहक जिल्लातर्फ गएकाले समस्या भएको बल्खु तरकारी बजारका म्यानेजर श्याम लामिछाने बताउँछन् । ‘बल्खु तरकारी बजार खुला भए पनि ग्राहक छैनन्,’ उनले भने, ‘दैनिक ३ देखि ४ सय टन आउने तरकारी मंगलबार न्यून आयो । त्यही पनि बिक्री भएन ।’
 
मार्टहरुको गुनासो पनि उस्तै छ । लकडाउनका कारण मंगलबार मार्टलगायत अन्य खाद्य पसल पनि बन्द भए । सरकारले भने सञ्चालन गर्न आग्रह गरिरहेको छ । मार्ट सञ्चालकले ग्राहक नै नभएको बताउँदै आएका छन । ‘आपूर्ति मन्त्रालयबाट मार्ट खोल्न आग्रह भएको छ । तर, ग्राहक खरिद गर्न आउने वातावरण छैन,’ बिग मार्टका फाइनान्स प्रमुख विवेक देवले भने, ‘मार्ट खुला राखेर मात्रै भएन । सर्वसाधारण घर बाहिर आएकै छैनन् ।’ मार्ट खोल्न कर्मचारी पनि नभएको उनले गुनासो गरे । कान्तिपुरमा खबर छ ।