Trending :
 

कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतराः संयुक्त राष्ट्र सङ्घ

चैत्र १३,२०७६

-

चैत १३,२०७६ काठमाडौं ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । 
 
अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए ।
 
यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ । 
 
तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड दिए ।
 
एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए । 
 
संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ । कोरोनाविरुद्धका लडाइँमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाइँको लागि अपिल गरेका हुन् । 
 
महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्न आह्वान गरेका थिए ।