विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा, मृत्यु हुनेको संख्या एक हजार ३ सय पुग्यो
-
चैत १४, २०७६ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ ।
शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ। त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ।
त्यस्तै अमेरिकामा करिब २ हजार संक्रमित निको भएको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ३ सय ४० पुगेको छ। चीनमा अहिलेसम्म ३ हजार २ सय ९२ को मृत्यु भएको छ भने करिब ७५ हजार निको भएका छन्।
कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन्। व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएझैं अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको छ। बिहीबार मात्रै अमेरिकी सिनेटले कोरोना प्रकोपसँग जुझ्न २ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ।
एजेन्सी