Trending :
 

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग

चैत्र १४,२०७६

-

चैत १४,२०७६ काठमाडौं ।
नेपाल चिकित्सक सङ्घले कोभिड-१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ ।
 
सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड-१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गर्नुभएको छ ।
 
सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु पनि उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
 
कोरोना भाइरससँग जुध्न अथक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सबै मिली यो रोगलाई नेपालमा फैलिनबाट रोक्न र आफ्नो जिम्मेवारी पूरा गरी असल एवम् जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुनसमेत महासचिव डा रिजालले अपिल गर्नुभएको छ ।
 
सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धी अभियानलाई सहज बनाउन सरकारले अझ बढी ठोस कदम चाल्नुपर्ने आग्रह गरिएको छ । ‘तीनै तहसँग समन्वय गरी एम्बुलेन्स सेवाको सहज उपलब्धता लगायत क्वारेन्टाइनको उचित व्यवस्थापनसहित आ–आफ्नो जिम्मेवारीअनुसार काम गराउनु आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।
 
विज्ञप्तिमा सङ्घले स्वास्थ्य संस्थालाई चाहिने अत्यावश्यक सामग्रीको उपलब्धता, सेवाका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका निमित्त सङ्घले अनुगमन गर्ने र सङ्घका शाखा कार्यालयले आफू मातहतका स्वास्थ्य संस्थामा सोही अनुरुप अनुगमन गर्नसमेत आग्रह गरेको छ ।रासस