कोरोनाबाट इटालीमा २४ घण्टामा ९१९ को मृत्यु, विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो
-
चैत १५,२०७६ काठमाडौं ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् ।
चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । चार लाख १२ हजार ९७५ जना उपचार गराइरहेका छन् ।
एक लाख ३३ हजार ३६३ उपचारपछि घर फर्किसकेका छन् । कोरोना भाइरस अहिलेसम्म जम्मा पाँच लाख ९७ हजार २६२ जनामा देखिएको छ ।
कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो ।
यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ । त्यस्तै इटाली शुक्रबार थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।
इटाली कोरोना भाइरसको संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि करिब २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।