लकडाउन अवधिभर सेयर कारोबार पनि बन्द
-
चैत १७,२०७६ काठमाडौं ।
सेयर बजार चैत २५ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई नियमक नेपाल धितोपत्र बोर्डले लकडाउन अवधिभरका लागि सेयर कारोबार बन्द राख्ने आसयको पत्र पठाएपछि नेप्सेले चैत २५ गते सम्मको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
नेप्सेले लकडाउन अवधिका लागि सेयर कारोबार बन्द गर्ने निर्णय नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए । सोमबार बसेको नेप्से सञ्चालक समितिको बैठकले लकडाउन अजवधिका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको साउदले बताए ।
बोर्डबाट सेयर कारोबार बन्द गर्ने अथवा के गर्न निर्णय गर्नु भन्ने आशयको पत्र आएको र नेप्सेले सोही अनुसार सेयर कारोबार बन्द गर्ने निर्णय गरेको साउदको भनाइ छ ।
साथै सेयर कारोबार बन्द गर्ने निर्णय भएको र बन्द गर्नु पर्नाको कारण उल्लेख गर्दै धितोपत्र बोर्डलाई जानकारी गराउन निर्णय समेत भएको उनले बताए ।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमवलीको दफा २१ अनुसार लकडाउन अवधिका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको साउदले जानकारी दिए ।
ऐनको उक्त दफामा ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ ।’ भन्ने व्यवस्था रहेको छ ।
ऐनको सोही दफालाई आधार मानेर नेप्सेले सेयर कारोबार रोक्ने निर्णय गरेको हो ।
यसअघि नेपाल धितोपत्र बोर्डको चैत १० गते ५ दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गर्दै नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले धितोपत्रसम्बन्धी ऐनको दफा ९०, उपदफा १ को घ लाई प्रयोग गर्दै ५ दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त दफामा बोर्डको विशेष अधिकारका रूपमा “धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिन सम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने ।” उल्लेख रहेको छ । ऐनको उक्त व्यवस्थाअनुसार पनि बोर्डले ५ दिनभन्दा बढी सेयर बजार बन्द गर्न सक्ने अवस्था थिएन । उक्त ५ दिनको समय सोमबारबाट पूरा भएको छ ।
त्यसैले बोर्डले नेप्सेलाई आफ्नो अधिकार प्रयोग गर्दै सेयर कारोबार बन्द गर्ने निर्णय गर्ने आशयको पत्र लेखेको बोर्डका एक अधिकारीले बताए ।