तप र तपस्या

तपस्यालाई जुन काम गर्नलाई हामी सक्षम छैनौ , भगवानलाई प्राप्त गर्ने अभिलाषाले गर्ने कार्य तपस्या भनि अर्थाईएको छ

चैत्र १७,२०७६




तपस्या अर्थात् तपको मूल अर्थ प्रकाश अर्थात् सुर्य वा अग्निबाट प्रज्वलित हुनु हो l तथापी यसको स्वरूप समय सँगसँगै फेरिएर कुनै बिशेष उद्धेश्य प्राप्ति हेतु आत्मिक र शारीरिक अनुशासनका लागि गरिने देहिक कष्टकर उपासनाका रुपमा बिकसित भएको छ   l

                       

अर्को तर्फ  तपस्यालाई जुन काम गर्नलाई हामी सक्षम छैनौ , भगवानलाई प्राप्त गर्ने अभिलाषाले गर्ने कार्य  तपस्या भनि अर्थाईएको पनि  छ l उपवास, माला, ध्यान यी आदि सबै तपस्याको नै रुप हुन् । आफ्नो  आवश्यकताको त्याग नै तप हो । ईद्रियहरुको  उपशमनलाई  उपवास भनिन्छ । इन्द्रिय माथि  विजय पाउनु नै सच्चा तपस्वी मनिन्छ l तपबाट  आत्मा शुद्ध हुने , शक्ति र मनोकामना प्राप्ति हुने साथै सबै कष्ट हट्ने विश्वास गरिन्छ  । बृहत अर्थ र भावना समेटिएको तपको बारेमा थप चर्चा गरी यसको वास्तविकता पहिल्याउनु उपयोगी होला नै l

 

भाग्वातागितामा तप र सन्यासकोको दार्शनिक पक्षको रुपमा बर्णन गरिएको पाहिन्छ (१७-१४-१९ )l शारीरिक , वाचिक र मानसिक तथा सात्विक , राजसी र तामसी गरी तापलाई छुटाईएको छ l यसमा शारीरिक तप देव , गुरु , मातापिता, र अहिंसा संग सम्बन्धित छ , वाचिक तप अनुद्वेगकर वाणी, सत्य र  प्रियभाषण तथा स्वाध्याय संग र मानसिक तप मनको प्रसन्नता, सौम्यता, आत्मनिग्रह र भावशुद्धिबाट सिद्ध हुन्छ । सबैभन्दा उत्तम तप सात्विक तप हो , जुन श्रद्धापूर्वक, फलको ईच्छा रहित भई गर्ने गरिन्छ l यसको बिपरित सत्कार , मान र पुजाका लागि दम्भापुर्वक  गरिने तप राजस तप हो l यसमा आफुलाई अनेक कष्ट दिएर अरुलाई कष्ट दिन शक्ति प्राप्त गरिने तप भनिन्छ l

 

बैदिक  कथनमा , तपस्या एवं तपलाई  जीवनको शाश्वत मूल्यहरुको प्राप्ति हेतु यसलाई सर्वोच्च स्थान दिईएको छ l निष्काम कर्म हेतु  तपलाई सबैभन्दा ठुलो मार्ग मानिएको छ l  सबै कर्म र यसको फललाई अग्निमा स्वाहा गरिने हुनाले अग्निलाई सर्वश्रेष्ठ तपस्वीका रुपमा माने गरिन्छ l त्यसैले हिन्दु परम्परामा बिवाह आदि शुभकार्यमा  अग्निलाई साक्षि मानि वर-कन्याले प्रतिज्ञा लिने गरिन्छ l 

 

तपस्या एवं तप जीवनको चार पुरुषार्थहरु र चार आश्रमहरुको सिद्धान्तबाट अभिप्रेरित छ l  यद्यपी ऋग्वेदमा यसको कुनै बर्णन गरिएको छैन l तप मूलतः मोक्षको प्राप्तिको लागि ईच्छुक सन्यासीद्वारा गरिने निष्ठावान कार्य भनेर भन्न सकिन्छ l सर्वस्व त्याग गरी संसारिक बन्धनबाट मुक्त हुन् ब्रम्हा आदि देवी देवताको बन्दना हेतु तप गर्नु उचित मानिएको छ l यसको बिपरित तान्त्रिक आदि बिधिद्वारा  अरुलाई हानि पुर्याउने र अरुबाट आफुलाई बचाउन समेत तपलाई माध्यम बनाईएको पाहिन्छ l अत: तपका लागि भनेरै शरीरलाई अनेक प्रकारले प्रताडित गर्दै  दुख दिने गरिएको छ  l

 

 

तपको भिन्न- भिन्न उद्धेश्य अनुरुप तपस्याको अनेकौ रुप रहेको छ l विद्याध्यायी ब्रह्मचारी, पुत्रकलत्र, धनसंपत्ति तथा शारीरिक सुखका लागि इच्छुक गृहस्थ, परमात्मा प्राप्ति हेतु , ब्रह्ममा  लीन तथा  मोक्षलाभको  इच्छाबाट  प्रेरित संन्यासी मनोभिलषित वर अथवा स्त्री चाहना राख्ने व्यक्ति, भगवानमा  लीन भक्त एवं देवीदेवताहरुको  कृपा चाहने सर्वसाधारण स्त्रीपुरुष, स्वधर्म र साधारण धर्मको  पालन गर्ने सर्व- साधारण जन आदि अनेकौ प्रकारका व्यक्तिहरुले  भिन्न भिन्न रूपहरुमा तपको सिद्धान्तहरूलाई आत्मसाथ गर्ने  र यसलाई प्रयोग गरेका छन् l साधारण रुपमा बुझिने तपस्या भनेको शरीरलाई कष्ट दिई बहुविधी  रूपमा  बढी कठोरता दिनु तपस्यालाई त्यतिनै चरमोत्कर्षबमा लानु हो l तर वास्तविक रुपमा यस्तो पाईदैन l  

 

साधारण तपस्वी  वत्कलदसन, भूतिशैया, अल्पाहार, जटाजूटधारण, नखवृद्धि, वेदोच्चारण, यज्ञक्रियात्मकता र  दयालुताको  अभ्यास मात्रमा  सीमित रहन्छन्l तर , उग्र तपस्वी गर्मी ऋतुमा  पंचाग्नी  (माथिबाट सूर्य र चरी दिशामा अग्नि प्रज्जवलित गरी तापलाई सहने ), वर्षा ऋतुमा बाहिर बसी , हिउदमा जलनिवास अथवा हिमालमा र हिउमा बसी तप गर्ने , तीन समय स्नान, कंदमूलाशन, भिक्षाटन, बस्तीदेखि टाढा  निवास गर्ने र  शरीरको सबै सुखहरु त्याग गरी तपस्या गर्ने गरेको पाईन्छ l  

 

मनुस्मृतिका अनुसार (११-५६ ) चातुर्वर्ण्यों  तप धर्मशास्त्र विहित उसको  कर्ममात्र हो l  तप : ब्राह्मणद्वारा ज्ञानको प्राप्ति, क्षत्रियद्वारा समाजको  रक्षा, वैश्यद्वारा कृषि, गौरक्षा र वाणिज्य , र  शूद्रद्वारा द्विजातिहरुको सेवा हो । सामाजिक दृष्टिबाट यो स्वधर्म- आफ्नो  कर्तव्यकोपालन नै सबैभन्दा  महत्वपूर्ण तप हो ।