Trending :
 

यि हुन कोरोना नदेखिएका १९ राष्ट्र

चैत्र २१,२०७६

-

चैत २१,२०७६ काठमाडौं ।
चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीले विश्व नै आक्रान्त छ । डिसेम्बर अन्तिममा पहिलो पटक संक्रमण देखिएपछि झन्डै तीन महिनाअघि जनवरी १२ सम्म यो भाइरस चीनमा मात्र सीमित थियो । चीनबाहिर कुनै पनि देशमा संक्रमित भेटिएका थिएनन् । 
 
जनवरी १३ देखि यो भाइरस विश्व समस्याका रूपमा देखा पर्‍यो। चीनबाहिर सबैभन्दा पहिले थाईल्यान्डमा भाइरस संक्रमित भेटिए। त्यसपछि, जापान, दक्षिण कोरिया र अमेरिका हुँदै विश्वभर संक्रमण फैलियो।
 
 
विश्वका कैयौं राष्ट्रमा एकैपटक एउटै भाइरस वा विरामीले प्रभाव पार्छ भने विश्व स्वास्थ्य संगठनले त्यसलाई ‘प्यान्डेमिक’ अर्थात् विश्व महामारीको रूपमा घोषणा गर्ने गर्छ। सुरुमा कोरोना भाइरसको प्रभावलाई लिएर ‘आपत्काल’ मात्र घोषणा गरेको विश्व स्वास्थ्य संगठनले मार्च ११ मा ‘प्यान्डेमिक’ घोषणा गरिसकेको छ।
 
 
अप्रिल ३ सम्म आइपुग्दा विश्वभर १० लाख १५ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भइसकेका छन्। मृतक संख्या ५३ हजारभन्दा बढी भइसकेको छ। संक्रमित र मृतक संख्या बढ्दो क्रममा छ। विश्वका कैयौं देशका अस्पताल संक्रमितले भरिएका छन्। विश्वनै संक्रमणका कारण प्रभावित भइरहँदा केही राष्ट्र भने अझैयसबाट मुक्त छ।
 
 
जोन हप्किन्स विश्वविद्यालयको अप्रिल २ सम्मको तथ्यांक हेर्ने हो भने संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका विश्वका १ सय ९३ राष्ट्र मध्ये १९ राष्ट्रले कोभिड–१९ संक्रमितको विवरण पुष्टि गरेका छैनन्।
 
 
कोभिड–१९ नदेखिएका १९ राष्ट्र
कोमोरोस, किरीबाटी, लेसोथो, माल्वी, मार्सल आइल्यान्ड्स, माइक्रोनेसिया, नाउरू, उत्तर कोरिया, पालाऊ, सामोआ, साओ टोम र प्रिन्सिपी, सोलोमन आइल्यान्ड्स, दक्षिणी सुडान, ताजिकिस्तान, तोंगा, तुर्केमेनिस्तान, तुभालु, भानुआटु र यमन
 
 
उत्तर कोरियाले बिहीबार मात्र आफू कोरोनामुक्त राष्ट्र भएको घोषणा गरेको थियो। संक्रमण फैलिएको तीन महिनाभन्दा बढी भइसक्दा पनि आफ्नो देशमा एकजना पनि संक्रमित फेला नपरेको भन्दै उसले कोरोनामुक्त राष्ट्र घोषणा गरेको हो।
 
 
केही विज्ञको विचारलाई मान्ने हो भने उत्तर कोरियाको भनाइ सत्य हुन सक्छ, किनभने विश्वबाटै अलग रहेको र संयुक्त राष्ट्र संघसहितका विकसित राष्ट्रबाट प्रतिबन्ध खेपिरहेका कारण त्यहाँ अन्यत्रबाट आवतजावत निकै कम हुन्छ। यसो त उसले छिमेकी चीनमा संक्रमण फैलिएसँगै आफ्नो सीमानाका बन्द गरेको थियो भने देशमा रहेका विदेशी कूटनीतिज्ञ र अधिकारीलाई दुई साता क्वारेन्टाइनमा राखेको थियो। कतिपयले भने उत्तर कोरियाले संक्रमितको तथ्यांक लुकाएको हुनसक्ने दाबी पनि गर्दै आएका छन्। यस्तै आरोप युद्धग्रस्त यमनलाई पनि लागेको छ। यद्यपि कतिपयले युद्धग्रस्त राष्ट्रमा अन्य क्षेत्रबाट जाने मानिसको संख्या अत्यन्त न्यून हुने वा हुँदै नहुने भएकाले पनि यमनी दाबी सही हुनसक्ने तर्क पनि प्रस्तुत गर्दै आएका छन्।
 
 
बाँकी १७ राष्ट्र, जहाँ संक्रमित भेटिएका छैनन् भनिएका छन् ती पनि साना टापु राष्ट्र छन्, जहाँबाहिरका मानिसको आवतजावत निकै कम हुने गर्छ। राष्ट्रसंघको तथ्याकंलाई हेर्ने हो भने विश्वभर बाहिरका मानिस कम भ्रमण गर्ने १० मध्ये ७ राष्ट्र कोभिड–१९ मुक्त छन्। टापु राष्ट्रका ग्रामीण जटिलता आफ्ना ठाउँमा होलान्, तर कोरोना भाइरस महामारीकै बीच सामाजिक दूरीका कुरा चलिरहँदा ती राष्ट्र वास्तवमै ‘सेल्फ आइसोलेटर’ देखिएका छन्। अन्यत्रबाट निकै कम मानिसको आवतजावत हुने भएकाले पनि ती राष्ट्र कोभिड–१९ मुक्त भएका हुन् भन्ने तर्क पनि पेश गरिएका छन्। राष्ट्र संघको तथ्यांकलाई हेर्ने हो भने मात्र केही सयको हाराहारीमा यी टापु राष्ट्रमा पर्यटकको आवतजावत हुन्छ। विशेष गरेर कोरोना संक्रमण फैलिएका विश्वका अन्य राष्ट्रका सम्पर्कबाट टाढै भएकाले पनि यी साना टापु राष्ट्र पछिल्लो महामारीबाट मुक्त भएका हुन्।
 
 
भूगोलका आधारमा राष्ट्र संघको सदस्य राष्ट्रमध्ये मोनाकोपछि नाउरू विश्वकै सबैभन्दा सानो राष्ट्र हो। यो जनसंख्याका आधारमा पनि विश्वकै दोस्रो सानो राष्ट्र हो। मात्र १० हजार जनसंख्या रहेको नाउरु विश्वमा कम पर्यटकले घुम्ने राष्ट्रमध्येको एक हो। राष्ट्र संघका अनुसार यहाँ गत वर्ष मात्र १ सय ६० जनाले भ्रमण गरेका थिए।
 
 
विश्वका अन्य राष्ट्रबाट अलि पर र समुद्र नै सीमा भए पनि नाउरूजस्ता अन्य साना टापु राष्ट्रले पनि सुरक्षात्मक उपाय भने अपनाइरहेका छन्। नाउरूका राष्ट्रपति लियोनल एन्गिमियाका अनुसार कोभिड–१९ ‘राष्ट्रिय संकट’ भइसकेको छ। एउटा मात्र अस्पताल, स्वास्थ्यकर्मीको न्यून उपलब्धता र केही संख्यामा मात्र भेन्टिलेटर सुविधाका कारण पनि जोखिम मोल्न नचाहेको उनको भनाइ छ। विश्वबाट टाढै भए पनि नाउरूले देशभित्र कैयौं प्रतिबन्ध लागू गरेको छ।
 
 
उसले मार्च पहिलो साताबाट चीन, दक्षिण कोरिया, इटाली र इरानबाट आउनेलाई यात्रामा प्रतिबन्ध लगाएको छ। मार्चको दोस्रो साता फिजी, किरीबाटी र मार्सल आइल्यान्ड्सको उडान स्थगन गरेको छ भने सातामा तीनपटक उडान भर्दै आएको एउटा मात्र अन्तराष्ट्रिय रूट ब्रिसबेनमा प्रत्येक १५ दिनमा एउटा उडान भर्ने निर्णय गरेको छ। छ अस्ट्रेलिया हुँदै देश फर्कनेलाई स्थानीय होटलमा कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ।
 
 
क्वारेन्टाइनमा राखिएका सबैको प्रत्येक दिन स्वास्थ्य जाँच गर्ने गरिएको छ। कसैमा ज्वरो देखिए उसलाई थप ‘आइसोलेटेड’ गरेर कोभिड–१९ परीक्षण गरिन्छ। विरामीको नमूना संकलन गरेर अस्ट्रेलिया पठाइन्छ। हालसम्म कसैमा पनि कोरोना ‘पोजेटिभ’ देखिएको छैन।
 
 
नाउरू मात्र नभई किरीबाटी, तोंगा, भानुआटा र अन्य साना प्यासेफिक राष्ट्रले पनि ‘राष्ट्रिय आपत्काल’ घोषणा गरिसकेका छन्।
 
 
शून्य संक्रमित भएका अधिकांश राष्ट्र टापु भए पनि केही भूपरिवेष्ठित राष्ट्र पनि छन्। १ करोड १० लाख जनसंख्या रहेको पूर्वी अफ्रिकी राष्ट्र मलावीमा पनि हालसम्म कसैमा कोभिड–१९ को संक्रमण देखिएको छैन। तथापि मलावी पनि चुप भने बसेको छैन। उसले ‘प्रकोपको अवस्था’ घोषणा गर्दै सबै विद्यालय बन्द गरेको छ भने मार्च २० भन्दाअघि जारी गरिएको भिजा रद्द गरेको छ। पछिल्लो ३० वर्ष ‘एचआईभी’ र क्षयरोग महामारीबाट प्रभावित मलावीले कोभिड–१९ संक्रमण नफैलियोस् भनेर कडा कदम चालेको हो।
 
 
नाउरू र मलावीजस्ता स्वास्थ्य प्रणाली कमजोर भएका राष्ट्रसँग संक्रमण रोकथामको विकल्प छैन। यद्यपि सधैं आयातमै भर पर्ने यस्तादेशले ‘लकडाउन’ कति समयसम्म थेग्न सक्छ भन्ने प्रश्न पनि उब्जिएका छन्। यसअर्थ, विश्वबाट कोभिड–१९ संक्रमणदर घटे वा अन्त्य भए मात्र यस्ता राष्ट्रलाई राहत मिल्ने देखिन्छ।
 
 
कान्तिपुर: (बीबीसीमा प्रकाशित आवेन एमोसको यो लेख अशोकराज पाण्डेले भावानुवाद गरेका हुन्।)