Trending :
 

सबै किसिमका बिरामीको उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्री ढकालको निर्देशन

चैत्र २१,२०७६

-

चैत २१,२०७६ काठमाडौं ।
 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
 
आज मन्त्रालयमा आमन्त्रण गरी मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
 
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए ।
 
उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री ढकाले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरस बाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिए । 
 
प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए ।
 
वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षणसमेत हुने बताए ।
रासस