कोरोनाले परिक्षा स्थगित भएपछि विद्यार्थीको क्षमता अनुसार ग्रेड दिन शिक्षकलाई जिम्मा
-
चैत २१,२०७६ लन्डन ।
नोभेल कोरोना भाइरसका कारण विश्वभरका विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुको पढाइमा असर परेको छ । त्यसैगरी विद्यार्थीहरुका परीक्षाहरु पनि स्थगित भएका छन् ।
इङ्ल्यान्डमा विद्यार्थीहरुको क्षमता अनुसार उनीहरुले स्थगित गरिएको परीक्षा ल्याउनसक्ने पूर्णांक अनुसार नम्बर दिने जिम्मा शिक्षकलाई दिइएको छ । शिक्षकहरुले विद्यार्थीको उक्त नम्बर परीक्षा समितिलाई बुझाउने छन् । सोही नम्बरका आधारमा विद्यार्थीको नतिजा तयार पारिनेछ ।
विद्यार्थीको क्षमता, यसअघिका परीक्षामा ल्याएको नम्बर र कक्षाकोठामा विद्यार्थीले गरेको विषयगत प्रदर्शनका आधारमा नम्बर दिएर २९ मेसम्म परीक्षा समितिलाई बुझाउन शिक्षकहरुलाई आग्रह गरिएको छ ।
शिक्षकहरुले दिएको नम्बर अथवा ग्रेडिङ अघिल्लो वर्षकोभन्दा धेरै कमजोर अथवा बढी भयो भन्ने लागेमा परीक्षा समितिले परिवर्तन गर्नसक्ने समेत जनाइएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमण भएपछि सम्पूर्ण परीक्षाहरु स्थगित गरिएका थिए ।
विद्यार्थीहरु जसलाई आफ्नो नम्बर कम आयो भन्ने लागेमा विद्यालय खुल्नेवित्तिकै परीक्षा दिनसक्ने अवसर पनि प्रदान गरिनसमेत जनाइएको छ । बीबीसी