Trending :
 

धुलिखेल अस्पतालमा आजबाट कोरोना सङ्क्रमणको परीक्षण शुरु

चैत्र २३,२०७६

-

चैत २३,२०७६ काठमाडौं ।
धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणको परीक्षण सेवा शुरू भएको छ ।
 
पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
 
 
सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए ।
 
‘पर्याप्त पीपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो,’ उनले भने ।
 
 
वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
 
प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
 
 
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज भएको छ ।
 
यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।