कर बुझाउने म्याद वैशाख २५ सम्म थप

चैत्र २४,२०७६

-

चैत २४,२०७६ काठमाडौं ।
 
सरकारलाई बुझाउनुपर्ने करको अवधि थपिएको छ । आन्तरिक राजश्व विभागले आइतबार सूचना जारी गरी कर विवरण र विवरण अनुसार लाग्ने करहरु बुझाउने समय थप गरेको हो । नेपाल सरकारको चैत १८ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार त्यस्तो समयावधि थप गरिएको विभागले जनाएको छ ।
 
थप गरिएको समय अनुसार मूल्य अभिवृद्धि करको फागुन महिनाको मासिक कर विवरण, माघ र फागुनको द्वैमासिक कर विवरण तथा मंसिरदेखि फागुनसम्मको चौमासिक कर विवरण यही चैत २५ गतेसम्म पेश गर्नु पर्नेमा त्यसलाई वैशाख २५ गते पुर्याइएको छ  ।
 
त्यस्तै, अन्तशुल्क बमोजिम चैत २५ गतेसम्म बुझाउनुपर्ने फागुनसम्मको विवरणको अवधि पनि वैशाख २५ गतेसम्म पुर्याइएको छ । यो अवधिसम्म विवरण बुझाउँदा कुनै पनि प्रकारको ब्याज र जरिवाना लाग्ने छैन ।
 
त्यस्तै, आयकरको अग्रिम कर बुझाउनुपर्ने विवरणलाई पनि वैशाख २५ गतेसम्मकै समयावधि थपेको छ । यो पनि यसअघि चैत २५ सम्म बुझाउनुपथ्र्यो । यो अवधिमा शिक्षा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर लगायतका करहरु समेत वैशाख २५ गतेभित्र बुझाए हुने व्यवस्था गरिएको छ ।
 
त्यस्तै, चैत महिनासम्म बुझाउनुपर्ने संशोधित अनुमानसहितको कर विवरण  बुझाउने अवधि वैशाख मसान्तसम्मका लागि थप गरिएको छ । लबडाउनको अवधिमा मूल्य अभिवृद्धि कर फिर्ताका लागि निवेदन सकिएकाहरुलाई त्यस्तो निवेदन दिने म्यादलाई वैशाख मसान्तसम्म सारिएको छ ।
 
अघिल्लो साता बसेको मन्त्रिपरिषद् वैठकले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि भन्दै घोषणा गरिएको लकडाउन अवधिमा आर्थिक कारोबार नहुने भएकोले सो अवधिमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याजको अवधि तथा कर दाखिलाको अवधि बढाएर उद्योगी व्यवसायीलाई राहत दिने निर्णय गरेको थियो ।
 
सोही निर्णय अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक राजश्व विभागलाई कर दाखिला अवधि लम्ब्याउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनलाई विभागले कार्यान्वयनमा ल्याएको हो ।