धुलिखेलमा शंकास्पद कसैलाई पनि कोरोना संक्रमण नभएको पुष्टि

चैत्र २५,२०७६

-

चैत २५, २०७६ काठमाडौं ।
काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा देखिएका १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
 
अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
 
‘पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ’, झाले भने ।
 
अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाहरुको विवरण भने गोप्य राखिएको छ ।
 
वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो ।
 
पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।