कोरोना उपचारमा खटिँदा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने प्रदेश एकको घोषणा

चैत्र २५,२०७६

-

चैत २५, २०७६ काठमाडौं ।
 
स्वास्थ्यकर्मीहरुले  उपचारमा खटिँदा आवश्यक पर्ने सुरक्षा सामग्रीको जोहो गर्न माग गरिरहेका बेला प्रदेश १ सरकारले भने त्यसक्रममा कसैले ज्यान गुमाए ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
 
कोरोना उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मी र कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताए।
 
उपचार प्रक्रियामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीलाई यस्तो क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले लिएको हो।
 
प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। तर, परीक्षण दर ज्यादै सुस्त हुँदा ढुक्क हुने अवस्था नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 
प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन्।