अनावश्यक खर्च कटौती गरि कोरोना उपचारमा लगाउनुपर्नेमा अर्थविद्हरूको सुझाव
-
चैत ३०,२०७६ काठमाडौं ।
कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र त्यससँग जुध्न अनावश्यक खर्च कटौती गर्नुपर्नेमा अर्थविद्हरूले जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले भिडियो कन्फ्रेन्समार्फत् आइतबार प्राध्यापक एवं वरिष्ठ अर्थविद् डा. विश्वाम्भर प्याकुर्याल एवं पूर्व अर्थसचिव रामेश्वर खनालसँग गरेको अन्तरक्रियामा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
कोरोनाले हरेक क्षेत्र प्रभावित भएको अवस्थामा अर्थतन्त्रलाई गतिशील बनाउन र प्रभावित क्षेत्रलाई पुनरुउत्थान गर्न धेरै रकम चाहियो र त्यसका लागि सांसद् विकास कोषसहित अन्य फजुल खर्च कटौती गर्नुपर्ने बताए ।
अर्थविद् खनालले सरकारले तत्काल विस्तृत प्याकेज ल्याउनुपर्ने बताए । राजस्व घटेको, रेमिट्यान्स घट्ने, वैदेशिक सहायता पनि आउन नसक्ने अवस्थामा सरकारले फजुल खर्चलाई नियन्त्रण गर्नुपर्ने खनालले बताए ।
उनले राष्ट्र बैंकले रि–फाइनान्स बढाउनुपर्ने र ब्याजदर पनि कम हुनुपर्ने बताए । यद्यपि व्याजदर भारतको भन्दा कम हुन नहुनेमा पनि उनले जोड दिए । अनावश्यक खर्चलाई रोक्ने र अगाडि बढ्न नसकेका आयोजनाको पनि मूल्यांकन गरी सोही अनुसार अगाडि बढ्नुपर्ने उनले बताए ।
यस्तै अर्थविद् प्याकुर्यालले पनि आम्दानी घटेको, उत्पादनमा ह्रास आएको, कुल गार्हस्थ उत्पादन घटेको अवस्थामा सरकारले सोही अनुसार राहतका प्याकेज ल्याउनुपर्ने बताए । उनले बैंकहरूको एनपीए बढ्न सक्ने भन्दै यसमा नयाँ व्यवस्था गर्नुपर्ने पनि बताए । कोरोनाले अर्थतन्त्रमा पारेको असरका विषयमा सरकारले साप्ताहिक रूपमा जानकारी गराउनुपर्नेमा पनि जोड दिए