भारतमा वैशाख २१ गतेसम्म लकडाउन
-
वैशाख २, २०७७ दिल्ली ।
भारतमा जारी लकडाउन मे ३ (वैशाख २१ गते)सम्म लम्ब्याइएको छ । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।
सबै क्षेत्रबाट लकडाउन लम्ब्याउनेबारे सुझाव आएकाले यस्तो निर्णय गरिएको उनले बताए। यसअघि घोषणा गरिएको लकडाउन मंगलबार सकिँदैछ। कोभिड–१९ को संक्रमण देखिएयता प्रधानमन्त्री मोदीको राष्ट्रका नाममा यो चौथो सम्बोधन हो।
अबको लकडाउन अझै कडा हुने पनि मोदीले सम्बोधनका क्रममा बताएका छन्। उनले लकडाउन कतिको पालना भएको छ भनेर अप्रिल २० सम्म सुक्ष्म तरिकाले मूल्यांकन गरिने र उचित तरिकाले कार्यान्वयन भएको पाइए कैयौं शर्तसहित केही खुकुलो गर्ने संकेत पनि दिएका छन्। अप्रिल २० सम्म हरेक थाना, हरेक जिल्ला र हरेक राज्यमा लकडाउनको पूर्ण पालना गराइने र त्यसपछि केही चिजमा सर्शत छुट दिइने पनि उनले बताएका छन्।
प्रधानमन्त्री मोदीले लकडाउनका कारण अत्यन्तै कष्टप्रद जीवन बिताउन बाध्य भए पनि सहयोग गरेको भन्दै भारतीय जनताको त्यागको प्रशंसासमेत गरेका छन्। समयमै लकडाउन नगरिएको भए देशमा अझै भयावहको स्थिति आउँथ्यो भन्दै उनले सामाजिक दूरीले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग पुगिरहेको दाबी गरे।
मोदीले कोभिड–१९ को लडाइँमा जनताको साथ अपरिहार्य रहेको भन्दै सबैलाई घरमै बस्न आग्रह पनि गरेका छन्। जनसंख्याको आधारमा विश्वमै दोस्रो ठूलो राष्ट्र भारतमा हालसम्म कोभिड–१९ संक्रमणका कारण ३ सय ५८ को ज्यान गइसकेको छ भने १० हजार ४ सय ५३ जना संक्रमित पुष्टि भएका छन्।
कमजोर स्वास्थ्य प्रणाली रहेको भारतमा संक्रमित र मृतक संख्या दिनानुदिन बढिरहेकाले चीन हुँदै युरोप र अमेरिका ‘इपिसेन्टर’ बनेको कोभिड–१९ को अबको नयाँ केन्द्र भारत हुनसक्ने तर्फ चिन्ता व्यक्त गरिँदै आएको छ।