बागलुङकी कोरोना संक्रमित महिला पनि आइतबार घर फर्किने
-
वैशाख ६,२०७७ काठमाडौं ।
बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्कने भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो। धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिने निर्देशक डा.शर्माले बताए।
‘उहाँलाई डिस्चार्ज दिएपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ उनले भने, ‘हामी फलोअप पनि गरिरहन्छौं।’ उनी चैत १९ देखि आइसोलेसनमा थिइन्। दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन्।
अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो। उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनी चैत १५ देखि आइसोलेसनमा छिन्। दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए।