कोरोना सङ्क्रमणका कारण मनाङमा यार्सा टिप्न रोक
-
बैशाख ८,२०७७ काठमाडौं ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनका कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ ।
यार्सागुम्बा टिप्ने मौसम सुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो ।
सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चार वटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
महङ्गो र लोपोन्मूख बहु-उपयोगी हिमाली औषधिय जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरुप यार्सागुम्बा टिप्न रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।
‘यार्सागुम्बा टिप्न जाँदा धेरै भिडभाड हुने र जिल्ला बाहिरबाट समेत यार्सा टिप्नका लागि मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरेका हौँ’, उहाँले भन्नुभयो ।
सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाएको छ ।
यार्सा टिप्न मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा र धादिङ जिल्लाबाट धेरै मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर रोक लगाएको अध्यक्ष घलेको भनाइ छ ।
जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताउनुभयो । गएको वर्ष स्थानीयलाई १० देखि १५ हजार रुपैयाँ पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उहाँले बताउनुभयो ।
वैशाख दोस्रो हप्तादेखि जेठसम्म मौसमका रुपमा मानिने र अनुमति लिएर यार्सागुम्बा टिप्न जाने गरेको नासो गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।
रासस