Trending :
 

पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गर्ने सरकारको तयारीः मन्त्री भट्ट

बैशाख ०८,२०७७

-

बैशाख ८,२०७७ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड-१९) का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको बताएका छन् ।
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तर्क्रियामा मन्त्री भट्टराईले कोभिड-१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताए । 
 
उनले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको पनि बताए । कर्चारीहरुलाई १ महिना बिदा दिएर घुम्न लगाइ पर्यटन क्षेत्रको गतिविध बढाउने गरी तयारी भइरहेको मन्त्री भट्टराईको भनाइ छ ।
 
पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल रहेको समितिले वास्तविक विवरण सङ्कलन गरिरहेको छ ।
 
पर्यटनको यकीन विवरण आएपछि के कस्ता राहतका कार्यक्रम ल्याउने भन्ने टुङ्गोमा पुगिने पर्यटन मन्त्री भट्टराईको भनाइ छ । उनले भने, ‘यो कोभिड-१९ महामारी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । सङ्क्रमण रोकिए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’
 
मन्त्री भट्टराईले पर्यटन क्षेत्रको वित्तीय सङ्कट समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि छलफल भइरहेको बताउँदै आगामी बजेटका सन्दर्भमा अहिले उठेका विषयलाई सम्बोधन गर्न सकिने धारणा राखे । उनले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए ।
 
पर्यटन क्षेत्रका जनशक्तिलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, साइनेजिङ, फुट ट्रेल निर्माणलगायत काममा लगाउन सकिने उनको भनाइ छ ।
 
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड-१९ बाट थलिएको पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आगामी तीन वर्षको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 
 
होटल एशोसिएसन अफ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा लकडाउन खुलेपछि पनि केही समय विदेशी पर्यटक आउने सम्भावना कम रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने खाँचो औँल्याए ।