Trending :
 

विश्वमा गम्भीर अनिकालको जोखिम बढेको राष्ट्र संघको चेतावनी

बैशाख १०,२०७७

-

बैशाख १०,२०७७ काठमाडौं ।
संयुक्त राष्ट्र संघले महामारीका कारण विश्वमा गम्भीर अनिकालको जोखिम बढेको चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको एक अंगको रुपमा रहेको विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी० मा प्रमुख डेभिड बेज्‍लेइले विश्वमा विस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको चेतावनी दिएका हुन् ।
 
भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको उनले बताएका छन् । विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्‍न आकलन गरिएको छ । 
 
डब्लूएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश रहेका छन् । द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक हुने डब्लूएफपीले जनाएको छ ।
 
ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचीमा राखिएको छ ।
 
कोरोना भाइरसको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्‍न अभावको गम्भीर संकट भोगेका थिए । यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो महामारीका कारण खाद्यान्‍नको संकट उत्पन्‍न भएको हो ।
 
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्समार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लूएफपीका प्रमुख डेभिडले सम्भावित गम्भीर अनिकालविरुद्ध विश्वले अति तीव्र र बुद्धिमतापूर्ण ढंगले काम गर्नु पर्ने बताए ।
 
केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउने सक्ने उनले चेतावनी दिएका हुन् । एकीकृत प्रयास र सहकार्यले कोभिड–१९ को विश्वव्यापी महामारीलाई मानवीय तथा खाद्य संकटको विकराल रुप बन्‍नबाट जोगाउन सकिने उनले उल्लेख गरेका छन् ।
 
डब्लूएफपीका प्रमुख डेभिडलाई कोरोना संक्रमण भएको थियो । उनी हाल स्वास्थ अवस्थामा फर्किएका छन् । 
 
डब्लूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले महामारीले निम्त्याएको आर्थिक संकट निकै विनाशकारी हुने बताएका छन् । उनले भने, ूजो भोकमरीका कारण आत्महत्या गर्ने बाध्य थिए, उनीहरुका लागि थप संकटापन्‍न स्थिति उत्पन्‍न हुनेछ । विश्‍वले त्यसतर्फ थप सजगता अपनाउन आवश्यक छ । 
 
यसअघि पनि डब्लूएफपीले एक विज्ञप्ति जारी गर्दै विश्वभरका २६ करोड ५० लाख मानिसहरुलाई खाद्य असुरक्षाको सामना गर्नुपर्ने जनाएको थियो । कोरोना महामारीका कारण पर्यटन उद्योगमा  पुगेको क्षति, रेमिट्‍यान्समा आएको गिरावट, यात्रालगायतका अन्य प्रतिबन्धका कारण यस वर्ष थप १३ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपर्ने छ । विश्वभर हाल १३ करोड ५० लाख मानिसहरुले भोकमरीको सामना गर्नुपरेकोसमेत जनाइएको छ । बीबीसी