कोरोना संक्रमितको संख्या आज पनि थप भएको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सेती अस्पतालमा उपचार गराइरहेका एकजना र टेकु अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ भने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन्।
त्यसैगरी आइसोलेसनमा देशभरी ९५ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन्। क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए।
भारत र चीनद्वारा स्वास्थ्य सामग्री सहयोग
भारत र चीनले कोरोना रोकथाम तथा परीक्षणका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले औषधिहरु चरणबद्ध रुपमा प्राप्त हुने जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट १८ किसिमका औषधि २३ टन सहयोग प्राप्त भएको बताएको छ । त्यसैगरी चीनले कोरोना रोकथामका लागि प्रयोग हुने सामग्री पनि सहयोग गरेको छ । पीसीआर मेसिन, थर्मोमिटर, पीपीइ सेट लगायतका सामग्री सहयोग गरेको हो ।