Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

मोदी र ट्रम्पबीच मंगलबार भेटवार्ता, मोदीले दिए ट्रम्पलाई ५५ वर्ष पुरानो हुलाक टिकेट उपहार

आषाढ १४,२०७४

-एजेन्सी

१४ असार,वासिंगटन-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको भेटवार्तामा दुई नेताबीच द्विपक्षीय सम्बन्ध विस्तार, आतंकवादविरुद्धको अभियानका विषयमा छलफल भएको बताइएको छ ।

आफ्नो दुईदिने अमेरिका भ्रमणका क्रममा न्युयोर्क पुगेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच २० मिनेट भेटवार्ता भएको भएको थियो । भेटपछि भारत र अमेरिकाले संयुक्त वक्तव्य जारी गर्दै आतंकवादविरुद्ध एक भएर उभिने प्रतिबद्धता जनाएका छन् ।

वक्तव्यमा कट्टर इस्लामी आतंकवादी संगठनको समूल नष्ट गर्न संकल्पसमेत लिइएको छ । दुई देशले २६÷११ र पठानकोट हमलाका अभियुक्तविरुद्ध मुद्दा चलाउन पाकिस्तानसँग माग गरेका छन् । ह्वाइट हाउसमा भएको भेटवार्तापछि संवाददाताहरूसँगको कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएको बताएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘आशा छ कि तपार्इं (ट्रम्प) ले मलाई तपाईंलाई भारतमा स्वागत गर्ने मौका दिनुहुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भनेको वाक्यांश उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । यसैबीच भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प पुत्री इवान्का ट्रम्पलाई समेत भारत भ्रमणको निम्ता दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले संवाददातासमक्ष भनेका छन्, ‘उहाँले मेरो निमन्त्रणा स्वीकार गर्नुभएको छ ।’ यसैबीच ट्रम्प पुत्री इवान्काले आफूलाई भारत भ्रमणको निम्तो आएको पुष्टि गरेकी छन् ।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘भारतीय प्रधानमन्त्री मोदीले मलाई भारत भ्रमणको निम्ता दिएका छन् । मलाई भारतमा हुने ग्लोबल इन्टरप्योनर समिटमा अमेरिकी डेलिगेसनसहित निम्ता दिनुभएको छ, यसका लागि धन्यवाद प्रधानमन्त्री मोदी †’ उनको स्वागतको ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलेनियासहित उनको परिवार र ह्वाइट हाउसका उच्च कर्मचारी उपस्थित थिए । यसैबीच भारतीय प्रधानमन्त्री मोदीले आफ्नो अमेरिकामा स्वागतलाई भारतीयहरूको सम्मान भएको बताएका छन् ।

यसैबीच भेटमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प पत्नी मेलेनियालाई हातले बुनेको कास्मिरी सल र हिमाञ्चलका काँगडा घाँटीका कारिगढले बनाएको चाँदीको ब्रासलेटसमेत उपहार दिएका थिए । उनले भेटमा चिया पनि उपहार दिएको भारतीय सञ्चार माध्मयले जनाएका छन् । यसअघि भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणमा आएका तत्कालीन राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामालाई बनारसी साडी उपहार दिएका थिए । त्यस्तै मोदीले ट्रम्पलाई अब्राहम लिंकनको मृत्युपछि सन् १९६५ मा जारी हुलाक टिकट र पन्जाबको होसियारपुरमा बनेको काठमो पेटीसमेत उपहार दिएका थिए ।