Trending :
 

उत्तर कोरियाली नेता किम जोङ देखिए कार्यक्रममा

बैशाख २०,२०७७

-

बैशाख २०,२०७७ काठमाडौं ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । 
 
राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
 
नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ ।
 
समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ । उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् ।
 
अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ–उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।