Trending :
 

विश्वभर कोरोना नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा

बैशाख २०,२०७७

-

बैशाख २०,२०७७ काठमाडौं ।
कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । जसमा एक नेपाली पनि परेकी छिन् ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुना झा कोरोना भाइरस नियन्त्रणका लागि अग्रप्रकितमा रहेको यूएन वुमनले उल्लेख गरेको छ ।
 
उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन ।
 
त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् । उनी निरन्तर काममा सक्रिय छिन् ।
 
संक्रमणको जोखिमका कारण उनी घर पनि जान पाएकी छैनन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् ।
 
झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।
 
आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।
 
महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
 
नेपालकी झासँगै चीन, ताजकिस्तान जोर्डन, एन्टीगुवाका महिलाको कथा समेटिएको छ जो कोरोना नियन्त्रणका लागि अअग्रपंक्तिमा रहेर काम गरिरहे्का छन् ।