Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

साधारण सेयरमा लगानीको अवसर

आषाढ १४,२०७४

-रासस

१४ असार,काठमाडौँ- नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपीओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर जारी गर्न पाऊँ भन्दै आवेदन दिनेको संख्यामा समेत बढोत्तरी भएको बोर्डले जनाएको छ । जलविद्युत् कम्पनी, आयोजना प्रभावित स्थानीयवासी र आमनागरिकलाई सेयर निष्कासनका लागि निवेदन दिन आह्वान गरिएको बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिए । सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रूपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् । बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ । आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत १२ वैशाखमा निवेदन दिएको हो । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत १३ वैशाख बोर्डमा निवेदन दिएको हो । सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजनाप्रभावित स्थानीय बासिन्दालाई ८ करोड बराबरको ८ लाख कित्ता सेयर निष्कासनका लागि गत ३१ जेठमा निवेदन दिएको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि २ करोड बराबरको २ लाख कित्ता सेयर आयोजनाप्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ । बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई ३ करोड ७१ लाख ४० हजार बराबरको ३ लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ । शुभम् पावर लिमिटेडले आयोजनाप्रभावित स्थानीय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपीओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ । साधारण सेयर नै जारी नगरीकन एफपीओ जारी गर्न दिने कि नदिने भन्नेबारे बोर्डले अध्ययन गरिरहेको उपनिर्देशक घिमिरेले बताए । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजनाप्रभावित स्थानीयका लागि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको साधारण सेयर निष्कासन गर्न लागेको छ । लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयका लागि २ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । युनिक हाइडेल कम्पनीले आयोजनाप्रभावित स्थानीयका लागि ५ करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ । उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ३ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ । बोर्डमा दिइएको निवेदनका आधारमा साधारण सेयर जारी गर्ने अवधि भएको छ कि छैन वा कागजी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने आधारमा निर्णय गरिने उपनिर्देशक घिमिरे बताउँछन् । उता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं लगानीका लागि उपयुक्त क्षेत्रका रूपमा जलविद्युत् आयोजना देखिएकाले संख्यामा समेत वृद्धि भएको जानकारी दिए । अध्यक्ष गुरागाईंकै कम्पनी न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई ५ करोड रुपैयाँ बराबरको र लमजुङ जिल्लालाई १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आम नागरिकका लागि समेत ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।