Trending :
 

कोरोनाका कारण भारतमा १ सय ९५ को मृत्यु

बैशाख २३,२०७७

-

वैशाख २३,२०७७ काठमाडौं ।
भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो ।
 
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
 
साथै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट भारतमा १९५ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १२ हजार ७ सय २७ जना निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
 
भारतमा सोमबार मात्रै ८२ हजार ७ सय ९२ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म भारतमा करिब १२ लाखको कोरोना परीक्षण गरिएको छ ।
 
कोरोना भाइरस संक्रमणबाट एसियाकै ठूलो मानिने धारावी सुकुम्बासी बस्तीमा प्रभावित भएको छ । धारावीमा आइतबार मात्रै ९४ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म धारावीमा २० जनाको मृत्यु भएको छ भने ६३२ जनामा संक्रमण देखिएको छ ।
 
कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण १३० करोड नागरिक घरभित्रै बस्न बाध्य भएका छन् । भारत सरकारले शुक्रबार फेरि लकडाउन थप २ हप्ता लम्ब्याउने निर्णय गरेको छ । भारतमा मे १७ तारिखसम्म लकडाउन लम्ब्याइएको हो ।
 
सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले सक्रंमणको सघनताको आधारमा भारतका ७३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ ।