भारतमा कोरोनाबाट १७ सय को मृत्यु, संक्रमितको संख्यापनि बढ्दो
-
बैशाख २४,२०७७ काठमाडौं ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नजिक पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या १७ सय पुग्न लागेको छ । अहिलेसम्म एक हजार ६९५ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको पनि जनाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भने त्यहाँ तीन हजार नौ सय संक्रमित थपिएका थिए । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।
सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६१७ पुगेको छ भने संक्रमितको संख्या १५ हजार ५सय नाघेको छ । गुजरातमा ३६८ जनाको मृत्यु हुँदा ६ हजार दुई सयभन्दा बढी संक्रमित छन् ।
मध्य प्रदेशमा १७६ जनाको मृत्यु भएको छ भने संक्रमित तीन हजार ४९ जना छन् । पश्चिम बंगालमा १४० जनाको मृत्यु हुँदा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उत्तर प्रदेशमा ५६ जनाको मृत्यु र दुई हजार आठ सय ८० जना संक्रमित भएका छन् । बिहारमा भने चारजनाको मृत्यु हुँदा ५३६ जना संक्रमित भएका छन् ।