नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, बुधबार थप १७ जनामा संक्रमण
-
वैशाख २४, २०७७ काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।
बुधबार संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनस् भर्ना गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।