सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने
-
वैशाख २५,२०७७ काठमाडौं ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रिबजेट छलफलपछि संसद्मा प्रस्तुत हुने भएको छ । संसद् सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रम सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।
नीति तथा कार्यक्रम पछि प्रिबजेट छलफल गर्ने परम्परा भएपनि कोरोना प्रकोपका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको हो । संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार छलफल गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
संसद् सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले नीति तथा कार्यक्रम जेठ २ गते प्रस्ततु हुने बताए । उनका अनुसार प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ । राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ ।