Trending :
 

राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, के होलान प्राथमिकतामा ?

जेठ ०२,२०७७

-

जेठ २, २०७७ काठमाडौं ।
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
 
संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।
 
कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७र०७८ को बजेट ल्याउने छ ।
 
नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएको अर्थमन्त्रालय स्रोतले बतायो । नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ ।
 
नीति तथा कार्यक्रम मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको हुने अनुमान छ।