गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने

जेठ ०२,२०७७

-

जेष्ठ २, २०७७ काठमाडौं ।
सरकारले कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्ने रणनीति लिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै यो रणनीति अपनाउने भएको जानकारी गराएकी हुन् ।
 
उहाँले दाता र श्रमिक सङ्गठनको असल सम्बन्धलाई विस्तार गर्दै श्रम बजारलाई थप व्यवस्थापन गर्न सरकारले रणनीति बनाएको बताइन् । यस्तै सरकारले सबै श्रम शोषणको अन्त्य गर्ने रणनीति लिएको छ ।
 
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने भएको छ । श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ । यस्तै सरकारले श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने भएको छ । अण्डामा आत्मनिर्भर भएका बताउँदै उनले माछा मासु लगायत अन्य कुरामा पनि आत्मनिर्भरको नजिक रहेको बताइन् । 
 
पोषणयुक्त आहार उत्पादन गर्ने बताउँदै उनले पहाड र तराईमा गाई, भैसी, भोडा, चाङ्ग्राको उत्पादनमा जोड दिइने बताइन् । पशुबाट सार्ने रोगलाई नियन्त्रण गर्न क्वारेन्टाइनको व्यवस्था गरिने पनि उनले बताइन् । कृषि शिक्षाबाट प्राप्त गुणलाई उपयोग गर्ने बताउँदै कृषिका हरेक क्षेत्रमा प्राविधिक कृषक परिचालन गरिने बताइन् । 
 
कृषि उपजको मूल्य शृङ्खलाको व्यवस्था गर्नुको साथै संंघ, प्रदेश र स्थानीय तहको मूल्यलाई समायोजन गरिने उनले बताइन् । 
 
जलवायु परिवर्तन र प्राकृतिक विपदबाट बच्न विभिन्न कार्यक्रमको संचालन गर्नुको साथै भूमि र प्रविधिको मार्फत भूमि बैंकको व्यवस्था गरिने उनले बताइन् ।