चीनबाट नेपाली सेनाले ल्याइपुर्यायो पहिलो चरणको स्वास्थ्य सामग्री
-
जेठ ३,२०७७ काठमाडौं ।
नेपाली सेनाले चीनबाट एक हजार एक सय ८० क्युविक मिटर सामग्री काठमाडौं ल्याइपुर्याएको छ । चीनको ग्वान्झाओबाट २ वैशाखमा काठमाडौंका लागि हिँडेको कन्टेनर शनिबार काठमाडौं आइपुगेको हो ।
नेपाली सेनाको जंगीअड्डाले सेनाको सामग्री शुक्रबार आइपुग्ने बताएको थियो । तर, तातोपानी नाकामा १० वटा ट्यांकरको भन्सारसम्बन्धी कामका कारण शुक्रबार आइपुग्न सकेन ।
नाकामा सामान लिनका लागि जंगीअड्डाका एक जना मेजर गएका थिए । टोली शनिबार बिहान तातोपानीबाट काठमाडौं हिँडेको थियो । रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको जानकारी दिए ।
ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालको स्वास्थ्य सामग्री बोकेर हिँडेको थियो । ती कन्टेनरमा ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए । तीसहित १० वटा कन्टेनर बिहीबार सीमा नाकामा आइपुगेका थिए ।
स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न ती कन्टेनरलाई १३ दिन लागेको छ । यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेको थियो ।
तर, चीनमा सरकारी बिदा र भन्सारको लामो प्रक्रियालाई कारण देखाउँदै सेनाले पहिले स्थलमार्गबाट सामान ल्याएको हो । अब स्थल र हवाईमार्ग दुवैबाट सामान ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने जंगीअड्डाले जनाएको छ ।
पहिलो चरणमा विमानबाट ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ । जसका लागि भन्सार प्रक्रिया जारी रहेको जंगीअड्डाको दाबी छ ।
कोरोना भाइरसको महामारीका बेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।