Trending :
 

विश्व बैंकद्धारा विश्वका एक सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा

जेठ ०६,२०७७

-

जेठ ६,२०७७ काठमाडौं ।
विश्व बैंक समूहले कोभिड १९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ ।
 
विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर (१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा कुल जनसंख्याको करीव ७० प्रतिशत प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन् । अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा यो रकम मुलुकहरुले प्राप्त गर्ने भएका छन् ।
 
संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो र छिटो आएको सहयता हो । मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ ।
 
सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र क्रमशः तोकिएका मुलुकहरुले प्राप्त गर्ने भएका छन् । यो सहायताले मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ ।
 
६ करोड मानिस गरिबीमा
 
कोभिडका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करीव ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ । विश्व बैंक समुहका अध्यक्ष डेभिड मालपासले १ सय मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन् । यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडी लैजान मद्दत पुग्ने उनको विश्वास रहेको छ ।
 
गरिबीबाट बचाउन, स्वास्थ्य आपतकालिन आवश्यकताको परिपूर्ति गर्न, निजी क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सहयोगी सावित हुने विश्वास लिइएको उनले जनाएका छन् ।
 
विश्व बैंकका अनुसार यस्तो सहायता ३९ अफ्रिकी मुलुकले पाउने छन् । यसबाहेक द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, चाड, हाइटी, नाइजरजस्ता मुलुक पनि समावेश छन् । विश्व बैंकले यस्तो सहायता ग्रुप मातहतका अन्तर्राष्ट्रिय वित्त निगमलगायत विभिन्न संस्थाबाट परिचालित गर्ने भएको छ ।