सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बिमा गरिदिने

जेठ ०८,२०७७

-

जेठ ८,२०७७ काठमाडौं ।
सिन्धुपाल्चोक जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख रुपैयाँबराबर कोरोना जोखिम बिमा गर्ने भएको छ । 
 
गाउँकार्यपालिकाको आकस्मिक बैठकले कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बिमांक रकम प्राप्त गर्ने र  १० लाखबराबरको स्वास्थ्य बिमा गर्ने भएको छ । बिमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
 
यसैगरी गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उनले  बताए ।
 
होम क्‍वारेन्टाइनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा राख्‍ने निर्णय गरिएको जनाइएको छ । 
 
गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ  आव २०७७÷७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् । रासस