अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्यो
-
जेठ १५,२०७७ काठमाडौं ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ ।
त्यस्तै बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएका छन् ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा जनवरी २१ मा पहिलो पटक देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ ।
बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ६८ हजार रहेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ४ लाख ११ हजारमा संक्रमण देखिएको छ भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
त्यसैगरी रुसमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेको छ । रुसमा बिहीबार बिहानसम्म ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको संक्रमण धेरै भएका देशमध्येमा पर्छ । बिहीबार बिहानसम्म भारतमा एक लाख ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा ६७ हजारभन्दा बढी निको भएका छन् ।