Trending :
 

न्युजिल्यान्डमा कोरोना संक्रमित शुन्य, मृत्यु हुने २२ जना पनि सबै ६० वर्ष माथिका

जेठ १६,२०७७

-

जेठ १६,२०७७ काठमाडौं ।
“हामीकहाँ अहिले केबल १०२ संक्रमित छन् । तर कुनै समय इटलीमा पनि बिरामीको सङ्ख्या यति नै थियो,” यो भनाइ न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नको हो जसले ढिला नगरी कोरोनाविरुद्ध बेलैमा बहादुरीपूर्ण कदम उठाएर आफ्नो देशलाई ठूलो मानव क्षतिबाट जोगाउन सफल भएकी छन् । कोरोनाविरुद्धको लडाईँमा छिटो, तीव्र र कडा प्रतिक्रिया जनाउन सके मात्र सफल भइने उनको भनाइ रहेको थियो ।
 
यसरी न्युजिल्यान्डका अस्पतालमा अहिले कोरोनाका एकजना बिरामी पनि छैनन् भने पछिल्लो पाँच दिनमा त्यहाँ कुनै नयाँ संक्रमण फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
अकल्यान्डस्थित अस्पतालमा बाँकी रहेका अन्तिम बिरामी पनि गए राति नै डिस्चार्ज भएपछि न्युजिल्यान्डका अस्पतालहरुमा कोरोना बिरामीको सङ्ख्या शून्यमा झरेको हो । आधिकारिक तथ्याङ्कका अनुसार अहिले न्युजिल्यान्डमा ८ वटा मात्र ‘एक्टिभ केस’ रहेका छन् जो अस्पताल भर्ना हुनुपर्ने अवस्थामा छैनन् । 
 
कोरोनाका कूल बिरामी १,५०४ मध्ये १,४७४ ठीक भइसकेका छन् र मृत्यु हुने २२ जना पनि सबै ६० वर्ष भन्दा माथि उमेरका थिए । जसमा पनि आधा बढी ८० वर्षका र चारजना ९० को उमेरका थिए । 
 
यसरी गत मार्च महिनापछि पहिलोपटक बिरामीको सङ्ख्या शून्य हुन पुगेको बताइएको छ । 
 
मे ११ पछिदेखि त्यहाँ तीनवटा मात्र नयाँ संक्रमण फेला पारिएको छ भने पछिल्ला पाँच दिनमा बिरामी थपिएका छैनन् । न्युजिल्यान्डले हालसम्म २ लाख ६७ हजार भन्दा धेरै नागरिकहरुको टेस्ट गरिसकेको छ र थप २ लाख परीक्षणका सामग्री स्टक गरेर पनि राखेको आधिकारिक डाटामा उल्लेख छ । 
 
वास्तवमा न्युजिल्यान्डले फ्रेब्रुअरीको २६ मा पहिले संक्रमित फेला परेपछि मार्च १९ देखि नै देशव्यापी रुपमा कडा लकडाउन जारी गरेको थियो ।  त्यो समयमा प्रधानमन्त्री एडर्नको सो निर्णयलाई उल्लेखनीय रुपमा हेरिएको थियो किनकि उनले ठूलो आपत् नआइकन देशव्यापी लकडाउनको घोषणा गरेकी थिइन् । 
 
जबकी अधिकांश युरोपेली मुलुकहरुमा रोग नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि मात्र गम्भीरतापूर्वक कदम उठाइएको पाइएको छ । 
 
त्यसैले प्रधानमन्त्री एडर्नको सो निर्णयलाई अत्यन्तै बहादुरीपूर्ण मानिन्छ भने न्युजिल्यान्डको यो नीति अहिले अधिक सफल उदाहरण बन्न पुगेको छ ।
 
त्यस समय लागु गरिएको कडा लकडाउनमा साथीभाइ कोहीसँग पनि भेट्न नपाइने, औषधि वा सरसामान किन्न जान बाहेक सवारी चलाउन नपाइने अनि सम्पूर्ण व्यवसाय बन्द गर्ने भनिएको थियो । 
 
यसरी एर्डनले चार हप्ता लामो लकडाउनलाई थप तीन हप्ता लम्ब्याउने निर्णय सुनाउँदा उनले यसो नगरे दशौँ हजारको मृत्यु हुन सक्ने सरकारको मोडलमा देखिएको भनेर सबै नागरिकहरुलाई सचेत गराएकी थिइन् । 
 
र, जनतालाई डर देखाएर भएपनि बेलैमा सतर्क बनाउने न्युजिल्यान्ड सरकारको नीति प्रभावकारी पनि साबित भयो । 
 
यसमा न्युजिल्यान्ड वासीहरु कसैले उनको सो निर्णयको विरोध गरेनन् र इमान्दारीतापूर्वक सबै नियम पालन गरेकाले नै देशले यति ठूलो सफलता हासिल गरेको बताइएको छ । 
 
यसरी संकट व्यवस्थापनको मामिलामा एडर्नले अहिले चारैतिरबाट बलियो समर्थन पाइरहेकी छन् । 
 
एक वर्ष अगाडि क्रिसचर्चको मस्जिदमा भएको आतङ्की हमलाका बेला पनि उनको प्रतिक्रियाले विश्वभरबाट प्रशंसनीय ठहर गरिएको थियो । अहिलेको कोरोना संकटमा भने उनको दैनिक सन्देश, “घरमै बसौँ, दयालु बनौँ । हामी छिटो र कडा रुपमा अघि बढ्नुपर्छ” भन्ने रहेको छ जसलाई पूरै देशले आत्मसात् गर्दछ ।
 
त्यसैगरी प्रायः देशहरुमा कोरोनाका कारण मृत्यु भएका बिरामी अज्ञात रहन पुग्दा न्युजिल्यान्डमा भने त्यसरी ज्यान गुमाउने प्रत्येक मृतकको व्यक्तिगत रुपमा शोक मनाइएको छ ।  जसलाई पनि उदाहरणीय मानिन्छ किनकि अहिले कोभिड–१९ का कारण ज्यान गुमाउन पुगेका मानिसहरुलाई केबल तथ्याङ्कका रुपमा मात्र हेरिराखिएको छ । 
 
अहिले भने यो सफलताले देशमा बिस्तारै लकडाउन सहज बनाउने वातावरण ल्याएको र केही समयपछि अष्ट्रेलियाका लागि सिमाना पनि खुलाइन सक्ने अपेक्षा बढाएको छ ।  वास्तवमा न्युजिल्यान्डमा फेला परेका कूल १,५०४ मध्ये आधाभन्दा धेरै केस बाहिरबाट आएको वा विदेश भ्रमण गरेकाहरु रहेका थिए । 
 
यसैकारण अबका दिनहरुमा यसले सिमानामा परीक्षण गर्ने सम्बन्धी अधिक ध्यान दिने बताएको छ जुन लकडाउन खुलाइएपछि सबैभन्दा जोखिमपूर्ण क्षेत्र बन्ने अनुमान रहेको छ । यसअघि प्रधानमन्त्री जकिन्डा एडर्नले अर्को महिनासम्म न्युजिल्यान्ड लकडाउनको लेभल १ मा पुग्न सक्ने बताएकी हुन् । 
 
जसपछि चर्च, विवाह, अन्त्येष्टिका कार्यक्रमहरु १०० जनासम्मको उपस्थितिमा सञ्चालन गर्न पाइनेछ । 
 
एडर्नले भनेकी छन्, “हामीले यस्तो निर्णय लिन सक्नुले नै हामी भाइरससँगको लडाईँमा कति सफल भयौँ भन्ने देखाउँछ । शुरुवातदेखि नै कडा रुपमा प्रस्तुत हुनुले हामीलाई यो अवस्थासम्म ल्याएको छ र हामीले यही सहकारिता कायम राखेर अगाडि बढ्नुपर्छ ।”
 
सात हप्ताको कठोर लकडाउन पछि लेभल ४ को लकडाउन अप्रिलको अन्त्यतिर मात्र खुकुलो पारिएको थियो । 
 
यसपछि यो महिनाको सुरुवातमा लेभल ३ को सो लकडाउन २ मा झारिएको हो जसमा चाहिँ रेस्टुरेन्ट, सिनेमा, पसल र जिमहरु खुलाउन अनुमति दिइएको छ । 
 
अब लेभल १ मा भने सार्वजानिक भेलामा कुनै रोक लगाइने छैन र सार्वजानिक यातायात, स्कुल र अफिसहरु पनि सबै खुलाउन सकिनेछ ।  यसमा केबल सिमानामा मात्र परीक्षण र केही कडाइ लागु गरिने न्युजिल्यान्ड सरकारले बताएको हो ।  यसअघि सरकारले ल्याएको कोभिड-१९ को ट्रेसिङ एपमा ४ लाख बढीले साइन–अप गरिसकेको हुँदा त्यसै मार्फत नयाँ संक्रमण पत्ता लगाउन सकिनेछ । 
 
एडर्नका अनुसार लकडाउनलाई लेभल १ मा पुर्याउने सम्बन्धी जुनको दोस्रो हप्ताको अन्त्यतिर मात्र निर्णय लिइनेछ ।  यसअघि न्युजिल्यान्डले अष्ट्रेलियासँग ‘ट्राभल बबल’ सुरु गर्ने कुरा पनि उठाएको थियो जसमा दुवै देशका नागरिकलाई ओहोरदोहोर गर्न दिइने भनिएको हो । दुवै देशको पर्यटन क्षेत्रमा मद्दत पुग्ने अपेक्षा सहित न्युजिल्यान्डले सो प्रस्ताव गरेको बताएको छ । 
 
यिनै कारणहरुले गर्दा अहिले प्रधानमन्त्री एर्डनको कोरोना प्रतिक्रियाको ९२ प्रतिशतले समर्थन जनाएको हालै सञ्चालित सर्भेमा देखिएको हो ।  
 
तर पूरै विश्व कोरोनासँग लडिरहेकामा न्युजिल्यान्ड एक्लैले यसलाई जित्नु कतिपय अवस्थामा असहज पनि बन्न सक्ने विज्ञहरु बताउँछन् । किनकी खोप पत्ता नलागेको खण्डमा सबै देशहरुले भाइरसकै बीच जीवन जारी राख्नुपर्ने हुन्छ र यसमा न्युजिल्यान्ड मात्र किनारामा पर्न सक्छ ।  
– अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुको सहयोगमा