Trending :
 

अब सबै सरकारी सेवामा रहेका कर्मचारीलाई योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने

जेठ १८,२०७७

-

जेठ १८, २०७७ काठमाडौं ।
राज्यको ढुकुटीमाथि पेन्सनको दायित्व बर्सेनि बढेर हरेक चार वर्षमा दोब्बर हुन थालेपछि अब सबै सरकारी सेवामा योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने भएको छ ।
 
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संघीय संसद्मा आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्दै राज्यलाई पेन्सनको बढ्दो दीर्घकालीन बोझबाट मुक्त गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेका हुन् ।
 
सरकारले निवृत्तिभरण कोष ऐन २०७५ जारी गरी २०७६ साउन १ देखि सेवा प्रवेश गरेका निजामती कर्मचारीका लागि नयाँ पेन्सन प्रणाली लागू गरिसकेको छ । अब नेपाली सेना, दुवै प्रहरी संगठन, राष्ट्रिय अनुसन्धान विभाग, शिक्षक र विश्वविद्यालय सेवामा समेत योगदानमा आधारित पेन्सन प्रणाली लागू हुनेछ ।
 
‘योगदानमा आधारित मौजुदा व्यवस्थामा नसमेटिएका राष्ट्रसेवकलाई यसको दायरामा ल्याउन अवकाश कोष सञ्चालनसम्बन्धी कानुनमा संशोधन गरिनेछ,’ बजेटमा भनिएको छ । ऐन संशोधन गर्न चालु संसद् अधिवेशनमै विधेयक लैजाने गृहकार्य सुरु भएको जानकारी अर्थ मन्त्रालयका अधिकारीले दिएका छन् ।