असार अघि पिसीआरबाट कोरोना परीक्षणको दर बढाउन नसक्ने अवस्थामा छौंः स्वास्थ्यमन्त्री ढकाल

जेठ २६,२०७७

-

जेष्ठ २६, २०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ अघि कोरोना भाइरस संक्रमण परीक्षणको दर बढाउन नसक्ने बाध्यतामा रहेको बताएका छन् ।
 
अहिले नै आवश्यकताअनुसार पीसीआर परीक्षण गर्ने क्षमता नभएको भन्दै उनले असार १५ गतेदेखि दिनमा १० हजार स्वाब परीक्षण गर्न सक्ने बताए ।
 
‘एउटा दुईटा गर्दै दिनमा ४७ सय परीक्षण गर्न सक्ने ठाउँमा छौं । असार १५ सम्म १० हजार पीसीआर रिपोर्ट दिन सक्ने अवस्थामा पुग्नेछौं’ सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने ।
 
मन्त्री ढकालले सात प्रदेशमा एकै साथ ठूला मेसिन किन्ने योजना बनाएको उनले सुनाए ।
 
अहिले नेपालमा १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको भन्दै मन्त्री ढकालले नेपालको परीक्षणको अवस्था एसियामै राम्रो रहेको बताए ।
 
‘एसियाको स्तरमा हामी निकै राम्रो ठाउँमा छौं, प्रति दश लाख ३३३७ मा परीक्षण गरेका छौं’ उनले भने ।
 
आरडीटी विधिको परीक्षणलाई नेपालमा मान्यता नदिएको भन्दै मन्त्री ढकालले १४ दिन क्वारेन्टिनमा बसेपछि एन्टीबडी छ कि छैन भनेर मात्र आरडीटी परीक्षण गरेको बताए ।