कोरोनाको पीसीआर परीक्षण गर्न २० वटा निजी प्रयोगशाला इच्छुक देखिए

जेठ ३०,२०७७

-

जेठ ३०,२०७७ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को पीसीआर विधिबाट परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाका अनुसार ९ वटा प्रयोगशालाले अहिले नै आफूहरुसँग पीसीआर मेसिन रहेको भनी आशयपत्र दिएका छन् ।
 
तीमध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेका छन् ।
 
अन्य ११ वटाले अहिले नै मेसिन नभएको तर अनुमति पाए एक महिनाभित्र मेसिन ल्याउने बताएका छन् । उनीहरुले एक महिनाभित्र पीसीआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेका छन् ।
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड-१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए ।
 
‘हामीले प्रस्ताव गरेअनुसारको प्रयोगशालाले कोभिड-१९ परीक्षणका लागि इच्छा देखाएका छन्’ निर्देशक डा झाले भनिन्, ‘हामीले प्रस्ताव हेरेर ती प्रयोगशालालाई चाँडै नै परीक्षणको अनुमति दिन्छौँ ।’
 
प्रस्ताव पेश गरेका प्रयोगशालालाई अनुमति दिएपछि कोभिड-१९ को परीक्षण गराउन चाहने सर्वसाधारणले आफैं शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड-१९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड-१९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो ।
 
प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले यही जेठ २० गते कोभिड-१९ को परीक्षणको क्षमता बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा थप छलफल गरी यथाशीघ्र मोलाडिटी तयार गर्ने भनेर निर्देशन दिएको थियो । अहिले मुलुकभरि २१ वटा प्रयोगशालाबाट पीसीआर  प्रविधिबाट परीक्षण हुँदै आएको छ ।
 
प्रयोगशालाकी निर्देशक डा. झाले मन्त्रालयले मापदण्ड बनाएपछि निजी प्रयोगशालालाई परीक्षण गर्ने अनुमति दिने बताइन् । अहिलेसम्म नेपालमा एक लाख १५ हजार ९३७ पीसीआर परीक्षण भएको छ । देशभरका २१ प्रयोगशालामा बिहीबार पाँच हजार १९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
 
उपत्यकामा जनस्वास्थ्य प्रयोगशालासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ ।
 
मन्त्रालयका सहप्रवक्ता डा‍। समीरकुमार अधिकारीले पीसीआर परीक्षणका लागि निजीलाई पनि दिइने सैद्धान्तिक निर्णय गरे तापनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताए । रासस