नेपाल वायुसेवा निगमले हवाई भाडादर घटाउने

जेठ ३१,२०७७

-

जेठ ३१, २०७७ काठमाडौं ।
नेपाल वायुसेवा निगमले हवाई भाडादर घटाउने निर्णय गरेको छ ।
 
खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै भाडादर घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
 
नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए ।
 
विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ ।
 
सो निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।