सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

जेठ ३२,२०७७

-

जेठ ३२, २०७७ काठमाडौं ।
सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९चौविसौं० संसोधन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाले पारित गरेको हो । यसअघि विनियोजन विधेयकमाथिको छलफल गत बुधबार सकिएको थियो ।
 
विनियोजन विधेयकमाथिको दफावार छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जवाफ दिएका थिए । विनियोजन विधेयक समेत गत बुधबार बहुमतले पारित भएको थियो ।
 
आइतबार भएको छलफलका क्रममा कांग्रेस सांसदहरुले विदेशी ऋण उठाएर मात्रै नेपालको अर्थतन्त्र चलाउन नहुने बताएका थिए । जवाफमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूँजीगत खर्चका लागि नेपालको आफ्नै स्रोतले मात्रै धान्न नसक्ने भएकाले आन्तरिक तथा वैदेशिक ऋण लिनुपर्ने अबस्था रहेको जवाफ दिएका थिए ।