Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

वासिङ्टनलाई संयम अपनाउन चीन र रुसको आग्रह

आषाढ २२,२०७४

-बीबीसी बाट

२२ असार-

संयुक्त राष्ट्रसंघमा बोल्दै अमेरिकी राजदूतले उत्तर कोरियाको बलिस्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तेजक सैन्य क्रियाकलापको संज्ञा दिएकी छन्।

उत्तर कोरियाको बलिस्टिक मिसाइल परीक्षणप्रति अमेरिकाले कडा प्रतिक्रिया जनाएपछि चीन र रुसले वासिङ्टनलाई संयम अपनाउन आग्रह गरेका छन्। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सुरक्षा परिषदको आपतकालीन बैठकमा बोल्दै उत्तर कोरियाली कदमले विश्वमा द्वन्द्वको सम्भावना बढेको बताइन्। उनले वर्षौंदेखि उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएपनि त्यो पर्याप्त हुन नसकेको बताउँदै अब उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउनुपर्ने समय आएको बताइन्।

'प्रतिरक्षा'

उनले आवश्यक परे अमेरिकाले आफ्नो रक्षाका लागि सम्पूर्ण शक्ति लगाउनसक्ने बताइन्।

पछिल्लो परीक्षणले समस्याको "कुटनैतिक समाधानको सम्भावना समाप्त" पारेको बताउँदै राजदूत हेलीले भनिन्, "अमेरिका आफू र आफ्ना मित्रको प्रतिरक्षा गर्न सबै क्षमताहरुको प्रयोग गर्न तयार छ। सैन्य फौजको प्रयोग गर्ने क्षमता हामीसँग छ। आवश्यक परे हामी त्यसको प्रयोग गर्छौं, तर हामी त्यो दिशामा जान चाहादैनौं।" उत्तर कोरियाको पछिल्लो परीक्षणको भर्त्सना गरेको रुसले चाहिँ उत्तर कोरियाविरुद्ध सैन्य कदम चाल्न नहुने बताएको छ।

राष्ट्रसंघका लागि बेइजिङका प्रतिनिधिले पनि आफ्नो देशका लागि उत्तर कोरियाको पछिल्लो कदम अस्वीकार्य भएको बताए। तर उनले समस्या समाधानका लागि वार्ता र संयमता आवश्यक रहेकोमा जोड दिए। उनले अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली परिचालन गर्ने र उत्तर कोरिया नजिकै सैन्य अभ्यास गर्ने जस्ता कार्य अमेरिकाले स्थगित गर्नु पर्ने रुस र चीनको संयक्त धारणा दोहोर्याए।