प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट, स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

आषाढ ०१,२०७७

-

असार १, २०७७ काठमाडौं ।
प्रदेश ५ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।
 
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभा वैठकमा प्रदेश सरकारको तेस्रो पूर्ण वजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएका उनले आगामी आर्थिक वर्षका लागि बजेटको आकार ६ करोड रुपैयाँ घटाए ।
 
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ ।
 
बजेटको स्रोतमा आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदान १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानबाट ४८ करोड ३३ विशेष अनुदानबाट २१ करोड रुपैयाँ रहेको छ । त्यस्तै चालु वर्षको खर्च हुन नसकेको रकम ७ अर्ब ९४ करोड ५० लाख पनि आगामी आर्थिक वर्षको बजेटमा जोडिएको छ ।
 
चालु आर्थिक वर्षमा खर्च नभएको सशर्त, समपूरक र विशेष अनुदान रकम ३ अर्ब ७१ करोड ८४ लाख नेपाल सरकारलाई फिर्ता गरिएको वजेट वक्तव्यमा उल्लेख छ ।
 
प्रदेश ५ सरकारले स्वास्थ्य क्षेत्रका पूर्वाधार, जनशक्ति र क्षमता विस्तार गरी स्वास्थ्य सेवामा आम जनताको पहुँच बढाउने, कोभिड १९ बाट सिर्जित आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । त्यस्तै उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै प्रदेशलाई क्रमशः आत्मनिर्भर बनाउने पनि उद्देश्य राखिएको छ ।